काठमाडौं – नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सांसद पदबाट राजीनामा दिएको पत्र बुझाएका छन् ।
क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन् । उनीहरुले पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरेका छन् । धर्नामा बसेकाहरुको मागमा ऐक्यवद्धता जनाउँदै सांसद सिंहले राजीनामा बुझाएका हुन् ।
सर्लाहीमा तत्कालीन राष्ट्रिय जनता पार्टीका महासचिव जंगीलाल राय, माओवादी केन्द्रका नेता शम्भुलाल श्रेष्ठ लगायत अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई समायोजनका नाममा ठूलो संख्यामा क्रियाशील सदस्यता दिइएको छ ।
क्रियाशील सदस्यता विवादलाई लिएर सानेपामा बाराका नेता कार्यकर्ता १० दिनदेखि धर्नामा छन् भने धनुषाका तीन नेता चार दिनदेखि आमरण अनसनमा छन् । कांग्रेसको महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यतालाई लिएर विवाद थप पेचिलो बनेको हो ।