‘कांग्रेसबाट पटक पटक धोका भएकोले नयाँ समिकरण – प्रधानमन्त्री

2

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वामपन्थी शक्तिबिच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको बताएका छन्।

आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कांग्रेसबाट पटक पटक धोका भयो। कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन। सबैजसो निर्वाचनमा धोका भयो। भोलि पनि यस्तै हुने देखियो। एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमानदार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ।’

प्रधानमन्त्रीले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने बताए। उनले भने, ‘राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै छौँ। पूर्वदेखि पश्चिमसम्मको तराई–मधेसलाई समेटेर एउटा अभियान चल्नेछ। हिमाल, पहाड र तराई-मधेसलाई जोडेर उत्तर-दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ।’

गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको उनले बताए। प्रधानमन्त्रीले भने, ‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दै छौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुंगाएपछि एउटा निष्कर्षमा पुग्नेछौँ।’

केन्द्रमा नयाँ गठबन्धन बन्नुमा सरकारको गतिमा परिवर्तन ल्याउन, संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले बताए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू