विराटनगर – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन्।
वर्तमान अवस्थामा पार्टीको उपसभापति रहेकाले अगामी महाधिवेशनमा पनि उपसभापतिमा नै उम्मेदवारी दिने उनले घोषणा गरेका हुन्।
विराटनगरमा प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘आफूले पार्टी एकीकरण गरेर उपसभापति बनेको हुँ, सबै सझा उम्मेदवारको रुपमा फेरि उपसभापति हुन्छु।’ उनले पार्टीमा अहिले गुट उपगुट बढिरहेकाले सबै गुटको चाहनामा नै उपसभापतिमा उम्मेदवारी दिने बताए । ‘म कांग्रेसलाई बलियो बनाउन आएको हुँ’, उनले भने, ‘सबै गुटले उपसभापति बनाएर कांग्रेसलाई बलियो बनाउन सहयोग गर्ने छ।’
उनले नेपाली कांग्रेसको वर्तमान विधान, नियमावली र निर्देशिका नै एकाङ्गी, खास उद्देश्यबाट प्रेरित र पूर्वाग्रही रहेको भनेर गरिँदै आएको विरोधको पुष्टि भएको देखिएको बताए।
आफ्नो स्वार्थ अनुकूलका प्रावधान विधानमा अनावश्यक तवरले राखिएर निष्ठावान कार्यकर्तालाई पार्टीको तहगत निर्वाचनमा भाग लिनबाट वञ्चित गर्ने उद्देश्यले विधानमा राखेको व्यवस्था पार्टी पंक्तिभित्र अत्यन्त नै आलोचनाको विषय बनेको बताए।
उनले पार्टीको निर्वाचन गर्दा सभापति र केन्द्रीय सदस्यको निर्वाचन एकैचौटी सम्पन्न गर्ने वैधानिक व्यवस्था गर्नु पर्ने माग समेत गरे । निर्वाचित केन्द्रीय सदस्यहरु मध्येबाट केन्द्रीय कार्यसमितिको निर्णय अनुसार पदाधिकारीको नियुक्त हुने प्रावधान राखिनु पर्ने उनले बताए ।