कांग्रेसमा महाधिबेशनको रौनक, सभापतिको चर्चामा को-को ?

28

भवनाथ आचार्य/काठमाण्डौं – राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका कमजोर बन्दै गइरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा पार्टीको महाधिवेशनको सरगर्मी बढ्न थालेको छ । कोरोनाभाइरस संक्रमणको त्रासका कारण कार्यकर्ताको भौतिक उपस्थितिमा पार्टीका औपचारिक कार्यक्रम र भेला नभएपनि सामाजिक सञ्जाल तथा अन्य भेटघाट र चियागफका माध्यमबाट नेताहरूले आ-आफ्नो तयारी शुरू गरेका छन् ।

कांग्रेसको महाधिवेशन फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको छ । यद्यपी तोकिएकै मितिमा अधिबेशन हुनेकुरामा भने कांग्रेसका नेता कार्यकर्ता बिश्वस्त देखिंदैनन् । तोकिएकै मितिमा अधिबेशन नहुने कुरा त शिर्षनेता बाटै सारवजनिक भैसकेको अवश्था छ ।

क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधिको टुंगो नलाग्दै कांग्रेसको नेतृत्वको लागि आजका मितिसम्म ८ जनाले मुख खोलिसकेका छन् । यो संख्या अन्तिम भने होइन ।सभापति शेरबहादुर देउवा, सभापतिमा पराजित वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि युवा नेता गगन थापा समेतले कांग्रेसको नेतृत्वका लागि दाबी सार्वजनिक गरिसकेको अवश्था छ । महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. रामशरण महतदेखि अर्जुननरसिंह केसीसम्मले सभापतिमा उठ्ने बताइसकेका छन् । यद्यपि अहिले गरिएका दाबी सभापतिको पद ताकेर पदाधिकारीमा सीट सुरक्षित गर्ने दाउ हुने विश्लेषण पनि कांग्रेसमा छ ।

शेरबहादुर देउवा –

कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी सभापतिको रूपमा कार्यकाल दोहोर्‍याउने दाउमा छन् । आफूइतर समूहमा देखिएको नेतृत्वको हानथापलाई आकलन गरेर फेरिपनि सभापतिमा निर्वाचित हुनेमा उनी ढुक्क छन् । भाग्यमा सातपटक प्रधानमन्त्री बन्ने योग रहेको दाबी गरेका देउवालाई ‘सत्ताको प्यास’ बाँकी नै रहेको बुझ्न कठिन छैन् । कांग्रेस जतिसुकै कमजोर बनेपनि आफू बलियो बन्नुपर्छ भन्ने देउवाको लाइन छ । पटक–पटक प्रधानमन्त्री बनेको र बहालवाला सभापति भएका कारण महाधिवेशनका लागि देउवा बलियो अवस्थामा छन् ।

आफ्नै उत्तराधिकारी ठानिएका विमलेन्द्र निधिले छिटफुट रूपमा सभापतिमा उठ्ने अभिव्यक्ति दिएपनि उठ्छु नै भनेर भनिसकेका छैनन् । संस्थापन समूहबाट देउवाका अतिरिक्त निधिको उम्मेदवारी परेको खण्डमा भने अर्को पक्षलाई फाइदा पुग्ने देखिन्छ ।

रामचन्द्र पौडेल  –

देउवापछि कांग्रेसको नेतृत्वको लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले दाबी गरिरहेका छन् । कांग्रेसमा पहिलो पुस्ताका नेताहरू बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको निधन भएपछि सुशील कोइराला, देउवा, पौडेललाई दोस्रो तहको नेतृत्वको रूपमा व्याख्या गरिएको थियो । कांग्रेसमा दोस्रो पुस्ताको नेतृत्वमा पौडेल अहिलेसम्म प्रधानमन्त्री र सभापति बन्न सकेका छैनन् । पहिलो संविधानसभा कालमा कांग्रेस संसदीय दलको नेता बनेपनि प्रधानमन्त्रीको रेसमा पौडेल १७ पटकसम्म पराजित हुनुपर्‍यो ।

एकपटक पार्टीको सभापति बन्ने र देशको प्रधानमन्त्री बन्ने आकांक्षा पौडेलमा सकिएको छैन । गतसाता पार्टीको विवादलाई लिएर गरिएको पत्रकार सम्मेलनमा पौडेलले केपी ओली र प्रचण्डले अवसर पाए पनि देशका लागि काम गर्ने ढंग नपुगेको भन्दै आफूले अवसर पाए ५ वर्षमा समृद्धि ल्याउने दाबी गर्न छुटाएनन् । देशमा समृद्धिको कुरा गरेपनि आफ्ना समुहका नेताहरुको उचित व्यबस्थापन गरेर देउवाइतर समूहमा सभापतिको सर्वसम्मत उम्मेदवार बन्न पौडेललाई सकस पर्ने देखिएको छ ।

कृष्ण प्रसाद सिटौला –

१३औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर पहिलो चरणबाट आउट भएका पूर्वमहामन्त्री कृष्ण सिटौलाले पनि १४औं महाधिवेशनमा सभापतिमा उठ्ने भनेर मुख खोलिसकेका छन् । कांग्रेसमा तेस्रो धार भनेर सिटौलाले १३औं महाधिवेशन भन्दा अगाडि गुटको निर्माण गरेका थिए । पहिलो चरणमा पराजित भएपछि सिटौला समूहले दोस्रो चरणमा देउवालाई समर्थन गरेपछि देउवा सभापति बनेका थिए ।

महाधिवेशनपछि सिटौला देउवाभन्दा पौडेलसँग नजिक रहे । महाधिवेशनको तयारी शुरू भएसँगै सिटौलाले सक्रियता बढाएका छन् । आफूलाई सभापतिको उम्मेदवार बनाएमा पौडेल समूहमा मिसिने अन्यथा आफ्नै गुट बनाएर सभापतिमा उम्मेदवारी दिने सिटौलाको तयारी छ । काठमाण्डौंको चक्रपथमा सम्पर्क कार्यालय खोलेर नियमित कार्यकर्तासँगको भेटघाटमा रहेका सिटौला कांग्रेसको निर्णायक भुमिकामा देखिन्छन् ।

डा. शशांक कोइराला – 

१३औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएदेखि नै शशांक कोइरालाले कांग्रेसको नेतृत्वको लागि आफू तयार रहेको बताउँदै आएका छन् । कांग्रेस संस्थापक बीपी कोइरालाको छोराको नाताले कांग्रेस कार्यकर्ताको सहानुभूति आफूमा रहेको कोइरालाको बुझाइ छ । महामन्त्री भएपनि उनले गुट बनाउन सकेका छैनन् ।  पौडेलजस्तै देउवाइतरको समूहबाट सभापतिको सर्वसम्मत उम्मेदवार बन्ने कोशिशमा उनी लागेका छन् ।

पछिल्ला तीनवटा संसदीय चुनावमा निर्वाचित भएपनि उनी मन्त्री बनेर सरकारमा गएका छैनन् । मन्त्री बनेर भ्रष्टाचार गरेको या काम नगरेको बात उनलाई लागेको छैन ।बीपीपुत्र हुनुबाहेक शशांकसँग न भाषण कला छ, न कार्यकर्तालाई रिझाउने खुबी र सीप नै । शशांकले राम्रो केहि गर्न नसकेपनी नराम्रो गर्दैनन् भन्ने आम बुझाइ छ ।

शेखर कोइराला – 

२०७४ सालको आम निर्वाचनमा कांग्रेसको लज्जास्पद पराजयपछि कांग्रेसलाई पुनर्जीवन दिन भन्दै डा. शेखर कोइरालाले देशव्यापी भ्रमण गरेर कार्यकर्तालाई ऊर्जा थप्ने काम गरे । सभापति शेरबहादुर देउवालाई एक्लै हाँक दिइरहेका कोइरालाले कांग्रेसको नेतृत्वका लागि आफू तयार रहेको संकेत गरिरहेका छन् । बीपी स्मृति दिवसको अवसरमा साउन ६ गते विराटनगरमा आयोजित कार्यक्रममा कोइरालाले मोरङलाई राष्ट्रिय राजनीतिको राजधानी बनाउनु पर्ने बताएका थिए ।

कांग्रेसको लिगेसी रहेको कोइराला परिवारबाट शेखर कोइरालाले अन्य नेताहरू काठमाडौंमा वाकयुद्ध गरिरहेको समयमा जिल्लामा गएर कार्यकर्ताको मनोबल उच्च बनाउने र आफ्नो पक्षमा माहोल बनाउने काम गरिरहेका छन् । तुलनात्मक रुपमा आफू कार्यकर्ताको मनमा रहेको कोइरालाको बुझाइ छ ।

प्रकाशमान सिंह – 

कांग्रेस सभापतिको दाबेदारका रुपमा प्रकाशमान सिंहले पनि मुख खोलेका छन् । नेपाली कांग्रेसका संस्थापन नेता र २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहका पुत्रको रूपमा कांग्रेस कार्यकर्ताको सहानुभति रहने प्रकाशमानको विश्वास छ ।

प्रकाशमानले पछिल्ला तीनवटा आम निर्वाचनमा अपराजित रहेर राजधानी काठमाडौंको कांग्रेसको इज्जत जोगाउने काम गरे । पार्टीको नेतृत्व तहमा पटक-पटक रहेका नेता सिंहको उपत्यका बाहेक अन्य जिल्लामा खासै प्रभाव भने देखिंदैन ।

विमलेन्द्र निधि –

कांग्रेस सभापति शेरबहादुर देउवा समूहको पिल्लरको भूमिकामा रहेका उपसभापति विमलेन्द्र निधिले समेत सभापतिमा उठ्ने घोषणा गरेपछि देउवा वृत्तमा कोलाहल मच्चिएको छ । सभापतिमा उम्मेदवारी दिने निधिको अभिव्यक्ति साँचो हो कि ठट्टा भन्नेमा कांग्रेस नेताहरू सहमत हुन सकेका छैनन् ।

कांग्रेसको बेस रहेको मधेसमा गुमेको साख फिर्ता गराउन निधिले सभापतिमा उम्मेदवारी दिनुपर्छ भन्नेहरू पनि छन् । सभापतीको दाबी गरेर नेता निधिले अहिलेकै उप-सभापतीको पद सुरक्षीत गर्न खोजेको बझाइ पनि कांग्रेसमा छ ।

डा. रामशरण महत –

पहिलो संविधानसभा निर्वाचनमा माओवादीले प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीको शासकीय स्वरूपको प्रस्ताव बहसमा ल्याएका बेला प्रचण्डसँग चुनाव लड्न तयार छु भनेर प्रतिक्रिया दिने डा. रामशरण महतले १४औं महाधिवेशनमा कांग्रेस सभापतिका लागि उम्मेदवारी दिने बताएका छन् ।

देउवाइतर पौडेल समूहमा रहेका महतले कार्यकर्ताहरूसँग सभापतिमा उम्मेदवारी दिने बताएका हुन् । पटक–पटक देशको अर्थमन्त्री बनेका महत पछिल्लोपटक २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नुवाकोटबाट पराजित भएका थिए ।

अर्जुन नरसिंह केसी –

१३ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका अर्जुन नरसिंह केसीले पनि कांग्रेसको सभापतिका लागि उम्मेदवारी दिने बताउँदै आएका छन् । कुनै बेला पार्टी महाधिवेशनमा केन्द्रीय सदस्यतर्फ केसीले लोकप्रिय मत पाएका थिए । २०७४ सालको प्रतिनिधि सभा चुनावमा केसी नुवाकोटबाट पराजित भएका थिए ।

गगन थापा 

गणतन्त्र स्थापनाका लागि २०६२/०६३ सालमा भएको विद्यार्थी आन्दोलनबाट उदाएका कांग्रेसका युवा नेता गगन थापाले १४ औं महाधिवेशनमा कांग्रेसको सभापतिका लागि उम्मेदवारी दिने बताउन थालेका छन् ।  बीपी कोइराला ४० वर्षको समयमा पार्टीको सभापति र प्रधानमन्त्री बनिसकेकाले अहिलेको कांग्रेसलाई गतिशील बनाउन युवा नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।

अन्य युवाले उम्मेदवारी दिए आफूले साथ दिने र अन्यले हिम्मत नगरे आफूले उम्मेदवारी दिने गगनले बताएका छन् । १३ औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका गगन पराजित भएका थिए ।

अध्ययनशील र तार्किक बहस गर्न सक्ने गगनको खुबी छ । संसद्मा प्रधानमन्त्री र सरकारका मन्त्रीहरूलाई प्रश्न सोध्ने शैलीले उनलाई असली प्रतिपक्षी सांसदको रूपमा चिनाएको छ । सभापतिमा उम्मेदवारी दिएमा कांग्रेसका युवा पुस्ताको भोट गगनतर्फ जाने विश्लेषण गरिएको छ ।

देशका समस्याको समाधान, कांग्रेसलाई सशक्त पार्टी बनाउने एजेण्डा भन्दा पनि कमजोर नै भएपनि पार्टीको नेतृत्व हत्याउने होडबाजी कांग्रेसमा शुरू भएको छ । अहिले जस्ले जे घोषणा गरेतापनी महाधिबेशन नजिकिंदै जाँदा को नेता कुन समुहमा पुग्छन् त्यो त हेर्न बाँकी नै छ ।

समाचार वर्गहरू