काठमाडौं – नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले वर्तमान गठबन्धन परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन्।
रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले सरकारलाई प्रभावकारी बनाउने विषयमा पार्टी बैठकमा छलफल भएपनि वर्तमान गठबन्धन परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका हुन्।
गत शुक्रबार शीलत निवासमा पार्टी सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटलाई सरकार बदल्ने भेटको रुपमा चित्रण गर्न नहुने उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेसले दुईवटै काँध थापिदिँदा पनि गति पक्रिन नसकेको उनले बताए।
सोहि कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता दिनानाथ शर्माले वर्तमान सरकार असफल भएको दाबी गरे। सामाजिक न्याय र समृद्धि, राष्ट्रिय हितको पक्षमा यो सरकारले काम गर्न नसकेको उनले बताए।
उनले सरकार परिवर्तनका लागि बेइमानीहरुसँग संगत नगर्ने भन्दै जनताको बीचमा गएर सडक र सदनबाट आवाज उठाउने धारणा राखे।
राष्ट्रिय रुपमा समस्या आएको र सरकार बदनाम भएको सन्दर्भमा आफ्नो दलका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता र गम्भीर कुराकानी भएको पनि शर्माले बताए।