कांग्रेसले संसद अवरुद्ध गर्नु गलत हो : सांसद गिरी

22

मध्यबिन्दु/काठमाडौं – ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसले संसद अवरुद्ध गर्नु गलत रहेको सांसदले बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय जनता पार्टी (राजपा)की सांसद सरिता गिरीले कांग्रेसको उक्त कार्यप्रति आपत्ति जनाएकी हुन् । कांग्रेसले संसद अवरुद्ध गर्नुको सट्टा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखविरुद्ध महाअभियोग लगाउनेतर्फ सोच्नुपर्नेमा सदनको ध्यानाकर्षण गराइन्

‘प्रतिपक्ष दल नेपाली कांग्रेसले राजनीतिक लेनदेनका लागि संसद अवरुद्ध गर्याे, जुन सही भएन । अवरोध हटाउने तरिका पनि ठिक भएन,’ उनले भनिन्, ‘संविधानको धारा १०१ को उपधारा (२) ले संसदको एक चौथाइ सदस्यले महाभियोग प्रस्ताव दर्ता गराउन सक्ने अधिकार दिएको छ ।’
कांग्रेसको अवरोधका कारण चीनमा रहेका नेपालीलाई फिर्ता ल्याउने विषयमा संसदमा आवश्यक छलफल हुन नपाएको उल्लेख गर्दै उनले यसरी अवरोध गर्दा संसदप्रतिको विश्वास घटिरहेको धारणा व्यक्ति गरिन् ।

न्यायाधीश कुमार रेग्मी र नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनलाई जग्गा फिर्ता गर्ने शर्तमा मुद्दा नचलाइएको प्रति पनि उनले आपत्ति जनाइन् । उनीहरुले जग्गा फिर्ता गर्नुको अर्थ अपराध स्वीकार गरेको रुपमा बुझ्नुपर्ने उनको भनाइ छ ।

समाचार वर्गहरू