कांग्रेस उपसभापति गुरुङसँग सीआईबीको साढे ४ घण्टा सोधपुछ

101

काठमाडौं – ललितपुरको मितेरी सहकारी ठगीका आरोपित कांग्रेस उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार साढे ४ घण्टा सोधपुछ गरेको छ ।

पूर्वमन्त्री गुरुङले सहकारीबाट लिएको ऋण र भ्रष्टाचारी ठहर भएका व्यापारी मीनबहादुर गुरुङसँग भएको ‘शंकास्पद कारोबार’का सम्बन्धमा सीआईबीले घण्टौं सोधपुछ गरेको हो ।

सहकारी ठगीकै अनुसन्धानका क्रममा नेता गुरुङ र भ्रष्टाचार अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबीच २०८१ वैशाखमा ‘संदिग्ध आर्थिक कारोबार’ भएको खुलेको थियो । त्यसपछि नेता गुरुङमाथि शंकास्पद लेनदेन र सहकारी ठगी दुवैमा सीआईबीले अनुसन्धान जारी राखेको छ ।

सहकारी ठगी प्रकरणबारे सञ्चारमाध्यममा निरन्तर खबरदारी र पीडितको उजुरीपछि बल्ल अघि बढेको अनुसन्धानका क्रममा गुरुङ दम्पतीबीच कागजी रूपमा ‘सम्बन्ध विच्छेद’ भएको दाबी गरिएको थियो । तर ‘सम्बन्ध विच्छेद’ नहुँदैको मितिमा सहकारीको रकम अपचलन भएको र त्यसपछि ‘मिलिभगत’मा सम्बन्ध विच्छेद गरेको आरोप पनि नेता गुरुङमाथि लाग्दै आएको छ ।

तत्कालीन श्रीमती ज्योतिले रकम अपचलन गरेको र सम्बन्ध विच्छेदपछि पनि सहकारीबाट लिएको ऋण तत्कालीन श्रीमान् नेता गुरुङले तिरेको विषयले झनै मिलेमतो पुष्टि भएको भन्दै उनीमाथि सूक्ष्म अनुसन्धान गर्न चौतर्फी दबाब छ ।

नेता गुरुङले सहकारीबाट लिएको ऋण घर बेचेर तिरेको र पछि व्यापारी गुरुङबाट पनि ऋण तिर्नकै लागि करिब १ करोड रुपैयाँ लिएको विषय बाहिरिएपछि सीआईबीले अनुसन्धान झन् गहिरो बनाउँदै लगेको छ । प्रहरीले नेता गुरुङका सहकारी र अरू आर्थिक कारोबारसँग सम्बन्धित विवरण अनुसन्धानका क्रममा रहेको जनाएको छ । अनुसन्धान जारी रहेकाले यसमा संलग्न व्यक्तिहरूको टुंगो लागिनसकेको सीआईबी प्रमुख एआइजी दिपक थापाले बताए ।

सहकारीलाई तिर्न बाँकी ९१ लाख २६ हजार १४ रुपैयाँ २०८१ वैशाखमा एकैचोटि भुक्तानी गरेको दाबी नेता गुरुङको छ । सीआईबी प्रमुख थापाका अनुसार व्यापारी गुरुङबाट धनराज गुरुङले लिएको चेक मितेरी सहकारीको खातामा बचत भएको देखिएको छ ।

समाचार वर्गहरू