कांग्रेस कार्यालयमा देउवा पक्षका तरुण दलको पहरा

79

काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको निरन्तरको अडान र तयारीपछि थालिएको विशेष महाधिवेशनले अन्तत: कांग्रेस दुई टुक्रा भएको छ ।

बुधबार दिउँसोमात्रै कांग्रेस देउवा पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा एवं सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि कारबाही गर्ने निर्णय गरेको थियो ।

उनीहरूले आजै नयाँ कार्यसमिति घोषणा गर्ने बताएका छन् । अहिले बन्दसत्र हलमा विभिन्न कार्यक्रमहरू चलिरहेका छन् ।यसैबीच कांग्रेस देउवा पक्षका नेता कार्यकर्ताहरू भने पार्टी केन्द्रीय कार्यालयमै बसेका छन् ।

उनीहरू अहिले कार्यालय बाहिर आगो तापेर बसिरहेका छन् । कार्यालयमा सुरक्षा तैनाथी पनि बढाइएको छ ।

नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङको नेतृत्वमा युवाहरू पार्टी कार्यालयमा बसेका हुन् । कारबाहीमा परेको समूहले पार्टी कार्यालय कब्जा गर्ने भयले उनीहरू त्यहाँ बसेका हुन् ।

प्रहरी स्रोतका अनुसार, अहिले सानेपा कार्यालयमा ४०–५० जनाको समूह छ ।  उनीहरू त्यहीँ खाना पकाएर खाँदैछन् । ‘यतै खाना खाँदै छौं । आगो तापेर बसेका छौं,’ तरुण दलका एक नेताले भने ।

समाचार वर्गहरू