कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

144

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु हुनेछ ।

बैठकका लागि ‘एजेन्डा’ पदाधिकारी तथा पूर्वपदाधिकारीको आइतबार बसेको बैठकले तय गरिसकेको छ ।

बैठकमा गत असोजदेखि माघसम्मको सयदिने अभियानको प्रतिवेदन, महाधिवेशन गर्न नसकेका सात भातृ संस्थाका विषयमा छलफल हुनेछ ।बैठकले तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने विषयमा निर्णय लिनेछ ।

बैठकमा संघीय र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आआफ्नो क्षेत्रको काम कारबाहीबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराउने कार्यक्रम छ ।

केन्द्रीय समितिको अर्को एजेन्डा क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणसम्बन्धी छ । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले पनि चैत मसान्तमा सदस्ताको विवरण पठाइसक्न अन्तिम पटकका लागि गत माघमा नै परिपत्र गरेको थियो ।

तर, चैत मसान्तसम्म केही जिल्लाबाहेक कसैले नपठाएपछि वैशाख १५ गतेसम्मको म्याद थप गर्दै अर्को परिपत्र भएको थियो । तर, दोस्रो परिपत्रमा पनि कुनै प्रगति नभएपछि असार मसान्तसम्मको म्याद थपेर पुनः परिपत्र गरिएको छ ।

पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्मारिक प्रकाशन गर्ने तथा पार्टीको नीतिबारे सार्वजनिक बहस चलाउने बैठकको अर्को मुद्दा रहेको कांग्रेसले जनाएको छ ।

समाचार वर्गहरू