कांग्रेस बैठकमा शेखरले देउवालाई सोधे, केपि ओलीलाई किन प्रधानमन्त्री दिएको ?

133
फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यसअघि भन्दा भिन्न शैलीमा केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुँदै आफ्ना अभिव्यक्ति दिएका छन् ।

बैठकको पहिलो दिन नै आफ्ना कुरा राखेका कोइरालाले महाधिवशेन गर्नुपर्नेमा आफू अहिले पनि दृढ रहेको सुनाउँदै भने, ‘यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन सभापतिज्यू र पदाधिकारीले चित्त बुझ्दो जवाफ दिनुपर्‍यो ।पदाधिकारी साथीहरू त महाधिवेशनका लागि जोडतोडले घुमिरहेको देखिन्छ ।’

‘कांग्रेस–एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ । तर मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ । के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ? केपि ओलीलाई किन प्रधानमन्त्री दिएको ?’ नेतृत्वलाई प्रश्न गर्दै उनले भने, ‘यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? सभापतिज्यूले यसको चितबुझ्दो जवाफ दिनुपर्छ ।’

अनुशासन समितिको बैठकमा पार्टी सभापतिले चितवनमा दिनेश कोइरालालाई शेखर कोइरालाले उठाएको हो, शेखरलाई किन कारबाही नगर्ने भनेर बोलेको प्रसंग उठाए । सभापतिले के आधारमा भनेको भनी जवाफ मागे ।

अनुशासनको कारबाहीप्रति असन्तुष्टि राख्दै कोइरालाले पार्टी बैठकमा भने, ‘यस्तो अनुशासन समितिले निष्पक्ष काम गर्न सक्दैन । एउटै प्रकृतिको विषयमा कसैलाई सचेत गराइएको छ । कसैलाई निलम्बन गर्ने प्रस्ताव आएको छ । कारबाहीमा किन विभेद ?’

संयोजक आनन्द ढुंगानाप्रति प्रश्न गर्दै कोइरालाले भने, ‘त्यो अधिकार उहाँलाई कसले दियो ? पर्सा–१ मा महामन्त्रीले लेख्नुभएको पत्रलाई पार्टी जिल्ला सभापतिले किन मान्नुभएन ? यसको जवाफ कसले दिने हो, चित्तबुझ्ने जवाफ चाहियो ।’

पर्सा– १ मा गठबन्धनबाट टिकट पाएका लोसपा उम्मेदवारले चौथो स्थानको मत ल्याएको सुनाउँदै कोइरालाले भने, ‘कांग्रेसका साथि स्वतन्त्र निर्वाचन लड्नुभयो । उहाँको २० हजार ९ सय १७ मत आयो र उहाँ निकट प्रतिद्वन्दी हुनुभयो । गठबन्धनका नाममा आफ्नो बलियो सिट किन अरुलाई दिइयो ?’

कोइरालाले उपचुनावमा बारा–२ मा ‘उपेन्द्र यादवलाई टिकट नदिएर कांग्रेसकै उम्मेदवार खडा गरौं’ भन्दा नेतृत्वले नसुनेको उनको गुनासो थियो । सभापतिसँग कोइरालाले जवाफ मागे, ‘आज उपेन्द्र यादव कहाँ हुनुहुन्छ र मधेश प्रदेश सरकारमा कांग्रेस कहाँ निर छ ? यसको पनि जवाफ चाहियो ।’

२०८० को उपनिर्वाचन मा तनहुँ– १ मा कांग्रेसलाई र चितवन–२ मा एमालेका उम्मेदवारलाई मत माग्दै कांग्रेस सभापति र एमाले अध्यक्षको हस्ताक्षरको विज्ञप्ति आएको दाबी गर्दै सभापति देउवाले त्यसको जवाफ दिनुपर्ने कोइरालाले बताए ।

कोइरालाले सर्लाहीको जिल्ला सभापतिलाई पार्टीबाट नहटाएकोप्रति पनि उनले आपत्ति जनाए । सर्वोच्च अदालतले सर्लाहीका सभापति दोषी किटान गरेपनि पदमा यथावत छन् ।

कोइरालाको अर्को प्रश्न थियो, ‘यो घटनाले कांग्रेसलाई कति क्षति पुगेको छ भन्ने कुरा सभापतिज्यू र पदाधिकारीले बुझ्नुभएको छ ?’

सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंहलाई साधारण सदस्यता समेतबाट बर्खास्तको माग पार्टीभित्रैबाट उठ्दै आएको छ । सिंचाइ आयोजनामा आर्थिक अनियमितामा अदालतले सिंहलाई दोषी ठहर गरेको छ ।

समाचार वर्गहरू