कांग्रेस मध्यावधि निर्वाचनको पक्षमा जान सक्ने डा. महतको संकेत

19

वीरगन्ज – नेपाली कांग्रेसका समहामन्त्री डा. प्रकाशसरण महतले नेपाली कांग्रेस मध्यावधि निर्वाचनको पक्षमा जान सक्ने तर्फ संकेत गरेका छन् । प्रमुख प्रतिपक्षको भूमिका नदेखिएको भन्ने आरोपको खण्डन गर्दै नेता महतले कोरोना संक्रमणको जोखिमले सडकमा आउने अवस्था नरहेको, सदन बन्द गरेर लोकतन्त्रलाई बन्धक बनाएको अवस्था र कांग्रेसलाई सरकारमा जाने जनादेश पनि नरहेको अवस्थामा जनमतबाटै सरकारको विकल्प खोज्नुपर्नेे भन्दै घुमाउरो पारामा वर्तमान ओली सरकारले मध्यावधि निर्वाचनको घोषणा गरोस् भन्ने आशय व्यक्त गरेका हुन् ।

महतले वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार निर्वाचित सरकारमध्ये इतिहासकै भ्रष्ट भएको आरोप लगाउदै ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्यांकले एशियाका भ्रष्टाचार गर्ने देशहरुमध्ये नेपाल सबैभन्दा पहिलो सूचीमा नै परेकोले पनि ओली नेतृत्वको सरकार भ्रष्ट भएको प्रमाणित गरेको दावी गरे ।

नेपाली कांग्रेसले मुलुकमा भएका भ्रष्टाचार र वेथितिको विरोध गरिरहँदा हठातमा आएर संसद नै बन्द गरेर लोकतन्त्रलाई बन्धक बनाएको र बाहिर सडकबाट खबरदारी गर्नका लागि कोरोना महामारीको संक्रमणको जोखिम भएको र यो अवस्थामा ओली नेतृत्वको सरकारमा पनि जाने सम्भावना नरहेकोले अब जनताको साथबाट कांग्रेस अगाडि बढ्ने बताए ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता महतले लोकतन्त्रमा जनता नै मुख्य शक्तिको श्रोत भए पनि वर्तमान सरकारले जनतालाई शक्तिको श्रोत नमान्दा बाह्य शक्तिको चलखेल हुन थालेको र यो शुभसंकेत नभएको पनि बताए । राष्ट्रियताको अलाप गर्ने सरकारले उत्तरी सीमा अतिक्रमणमा केही नबोल्ने र कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका स्थानका विवादित विषयलाई कूटनीतिक पहलबाट सामाधान नगरी विदेश नीतिमा निकम्मापन देखाएको बताए ।

समाचार वर्गहरू