कांग्रेस महाधिबेशन झन अन्योलमा

25

काठमाडौं – नेपाली कांग्रेसको महाधिबेशनको घोषित मिति नजिकिएसँगै अन्यौलता बढ्दै गएको छ । आजका मितिसम्म नेपाली कांग्रेसमा क्रियाशील सदस्यता वितरणको विवाद समाधान हुन सकेको छैन भने समायोजनको प्रकृया पनी अधुरै छ। यसैगरी विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसगको एकीकरण प्रक्रिया पनि सम्पन्न भइनसकेको र दुई महिना अगाडि सुनिल थापाको नेतृत्वमा समावेश भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एउटा चोइटोको व्यवस्थापन समेत हुन् नसकिराखेको अवस्था छ ।

यसैबीच दुई महिना अगाडि नेपाली कांग्रेसमा प्रवेश गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापाको छटपटी निरन्तररुपमा बढिराखेको छ । आफूलाई सहमहामन्त्री र आफूले सिफारिस गरेका आफूसँगै नेपाली कांग्रेसमा प्रवेश गरेका ५ जना राप्रपा नेतालाई केन्द्रीय सदस्य र थप ५ जना राप्रपा नेतालाई आमन्त्रित केन्द्रीय सदस्य बनाउने सहमतिअनुसार सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । तर अहिलेसम्म कांग्रेस सभापति देउवाले उनलाई पार्टीको सहमहामन्त्री बनाउने सर्त पूरा भएको छैन । साथै सभापति देउवाले थापाको सिफारिसमा ५ जनालाई कांग्रेसको केन्द्रीय सदस्य र अन्य ५ जनालाई आमन्त्रित केन्द्रीय सदस्य बनाउनेतिर कुनै पहल गरेका छैनन् ।

कोरोना महामारी निरन्तर रुपमा बढिराखेकाले घोषित मिति अर्थात २०७७ फागुन ७ गतेबाट प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको चौधौं महाधिवेशन हुन नसक्ने निष्कर्षमा सभापति शेरबहादुर देउवासँगै पार्टी संस्थापना इतर पक्षका नेताहरु पुगिसकेका छन् । तर यस सम्बन्धमा कसैले पनि अहिलेसम्म मुख खोल्ने हिम्मत भने गरेका छैनन् । सभापति देउवा यतिखेर पार्टीभित्रकै संस्थापन इतर पक्षले विभिन्न विभागमा गरेको मनोनयनप्रति आक्रोशित भएर अनसन र राजीनामा सम्मको धम्कीको चर्काे दबाबमा परेका छन् ।

उल्लेखित कारणले आगामी फागुन ७ गतेबाट चौधौं महाधिवेशन हुन नसक्ने मत व्यक्त गर्दा महाधिवेशन भाँड्न खोजेको अवगाल आउने भएकाले कसैले पनि यस सम्बन्धमा मुख नखोलेको एक नेताले बताए । नेपाली कांग्रेसका सबै शीर्ष नेताहरु मौनरुपमा पार्टीको चौधौं महाधिवेशन २०७८ सालको जेठमा गर्नुपर्ने निष्कर्षमा पुग्न थालेका छन् । नेपाली कांग्रेसले बिषम परिस्थितिमा थप ६ महिना महाधिवेशन गर्न समय पाउने संबैधानिक व्यबस्था छ  ।

 

समाचार वर्गहरू