कांग्रेस महाधिवेशन सर्ने निश्चित

22

काठमाण्डौं – आगामी फागुनमा हुने भनिएको नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने करिब निश्चित भएको छ । गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै नसकिँदा र पछिल्लो समय कोरोना संक्रमणका बढ्दै गएका कारण महाधिवेशन सर्ने निश्चित जस्तै भएको हो । पार्टी केन्द्रीय समितिको आगामी बैठकले महाधिवेशन २०७८ भदौमा सार्ने निर्णय गर्ने तयारी गरिएको एक केन्द्रिय सदस्यले बताए ।

नेपाली कांग्रेसको विधानमा व्यवस्थाभए अनुसार फागुनमै महाधिवेशन गर्नुपर्ने भए पनि संवैधानिक व्यवस्थाअनुसार थप ६ महिना समय लिन सकिने प्रावधान छ ।  यसअघि पनि सोही व्यवस्थाका आधारमा १३औं महाधिवेशन साढे पाँच वर्षमा भएको थियो । अहिले कोरोना भाइरसको जोखिमका कारण फेरि त्यही अवस्था आउने देखिएको छ ।

विधान अनुसार वर्तमान केन्द्रिय कार्य समितिको चार वर्षको कार्यकाल गत फागुनमै सकिएको भएपनी कार्य समितिले विधानको अतिरिक्त सुविधा उपयोग गर्दै एक वर्ष कार्यकाल थपेको हो । गत माघ १३ गते बसेको केन्द्रीय समिति बैठकले थपिएको एक वर्षभित्रै हुनेगरी २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही बैठकले महाधिवेशन कार्यतालिका तय गरेको थियो । तर आन्तरिक विवाद र कोरोना भाइरस संक्रमणका कारण कार्यतालिका पटकपटक प्रभावित बनेको छ ।

गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम नसकिएपछि असार २२ गते बसेको केन्द्रीय समिति बैठकले साउन १० गतेसम्म सो काम सक्न समय दिएको थियो । तर आइतबारसम्म प्रदेश २ का आठ र अन्य प्रदेशका चार जिल्लामा समायोजन काम सकिएको छैन । कार्यतालिकाअनुसार आइतबारसम्म सबै जिल्लामा क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम सकिसक्नुपथ्र्यो । जबकि आइतबार साँझसम्म ६१ जिल्लामा मात्र नवीकरण र नयाँ वितरणका लागि केन्द्रीय कार्यालयबाट फारम पठाइएको छ । समायोजन नसकिएका प्रदेश २ का आठ जिल्लाका साथै सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा, कैलाली, पश्चिम नवलपरासी, मुस्ताङ, रसुवा, काभ्रे र सिन्धुपाल्चोकमा अहिलेसम्म पार्टीको सदस्यता फारामनै पुगेको छैन ।

विभिन्न जिल्लाबाट नयाँ सदस्यताको माग बढेपछि पदाधिकारी बैठकले नवीकरणको सतप्रतिशत नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेको थियो । सोही अनुसार २८ जिल्लाले थप ५० प्रतिशत नयाँ सदस्यता फारम पनि लगिसकेका छन् । कोरोना भाइरसको संक्रमण बढी रहेका केही जिल्लाबाहेक अन्यत्र सदस्यता वितरण र नवीकरणको काम जारी रहेको कांग्रेसको दाबी छ । केन्द्रीय समितिले पनि सदस्यता छानबिन गर्न बनाउनुपर्ने समिति गठनका लागि चासो देखाएको छैन ।

अधिबेशन नगर्नका लागी कोरोना संक्रमण अन्य दलबाट पार्टि प्रवेश लगायत यावत वहाना रहेका छन् । यि सबै अवयवहरुलाई हेर्दा पार्टिको आन्तरिक कलहले ग्रसित कांग्रेसको १४औं महाधिबेशन निर्धारित समयमा हुने कुरामा विश्वस्त हुने आधार देखिंदैन ।

समाचार वर्गहरू