काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न काँग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताएका छन्।
विराटनगरमा बिहिबार अपराह्न सञ्चारकर्मीहरूसँगको भेटमा नेता गच्छदारले २०४७ सालको उत्कृष्ट संविधान भएर पनि राजनीतिक अस्थिरताले गर्दा असफल भएको भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउनुपर्ने आफ्नो चाहना रहेको बताए।
पूर्वउप्रधानमन्त्री समेत रहेका गच्छदारले भने, ‘वर्तमान संविधान जारी गर्न मेरो पनि अहम भूमिका रहेकाले यो संविधानलाई दीगो र बलियो बनाउन स्थिर सरकार आवश्यक छ।’
अहिले पनि गठबन्धनको नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको बताउँदै उनले भने, ‘निर्वाचनमा जित र हार स्वाभाविक हो, मैले सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्राविधिकरूपमा पराजित भए पनि जनताको मनमस्तिष्कबाट पराजित भएको छैन।’