कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

4

काठमाडौं – नेपाली कांग्रेस लुम्बिनीले संघीयता बलियो बनाउन पार्टीको केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएको छ।

आइतबार सम्पन्न भएको कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनले तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टी केन्द्रसँग आग्रह गरेको हो।

सम्मेलनको समापनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले संघीय संरचनाअनुसार पार्टीलाई पनि चलायमान बनाउने विषयमा सम्मेलनले माग गरेको जानकारी दिए।

संघीय लोकतान्त्रिक गणतन्त्रअनुसार पार्टीको संरचनालाई चलायमान बनाउनुपर्ने सम्मेलनको निष्कर्ष रहेको सभापति पुनले बताए। ‘प्रदेश सरकारलाई प्रदेश समितिले निर्देशन गर्ने जिम्मेवारी दिनुपर्छ। केन्द्रले हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न पनि आग्रह गरेका छौं’ उनले भने। प्रदेश सभापतिलाई केन्द्रीय सहमहामन्त्री सरहको पदाधिकारी बनाउन सम्मेलनले सुझाव दिएको छ।

मुलुकको विकास र समृद्धिको लागि अरु पार्टीसँग पनि समन्वयकारी भूमिका खेल्नु पर्ने भन्दै प्रदेश सम्मेलनले अन्तरपार्टी सञ्जाल बनाएर सबै पार्टीसँग समन्वय सहकार्य गर्ने गर्ने निर्णय गरेको छ। संघदेखि वडा संरचनासम्म अरु पार्टीसँग समन्वय गर्न लुज फोरम बनाउनुपर्ने प्रदेश सभापति पुनले बताए।

यस्तै कांग्रेसको क्रियाशीलताको लागि सबै पालिका सभापतिलाई पदेन महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाउन पनि कांग्रेस लुम्बिनीले आग्रह गरेको छ। पार्टीमा एक पटक केन्द्रीय सदस्य भएकाहरू पनि तल्लो तहबाट सो तह प्रतिनिधि भन्ने व्यवस्था खारेज गर्न, सबैले तलैदेखि लडेर आउनुपर्ने कांग्रेस लुम्बिनीले प्रस्ताव  छ।

शनिबारदेखि सुरु भएको लुम्बिनी प्रदेश सम्मेलनको आइतबार बन्द सत्र भएको हो। कांग्रेसका केन्द्रीय महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यतामा भएको बन्द सत्रमा केन्द्रीय सदस्यहरूको पनि सहभागिता थियो। बन्द सत्रमा प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यद्धारा प्रस्तुत सांगठानीक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश रानाद्वारा प्रस्तुत प्रतिवेदनमाथि ४ वटा समूह बनाएर छलफल गरिएको थियो।

सम्मेलनमा प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, सल्लाहकारहरू, प्रदेश अधिवेशन प्रतिनिधि, जिल्ला सभापतिहरू, भातृ तथा सुभेच्छुक संगठनका प्रतिनिधि गरी ७ सय बढी सहभागिता रहेको थियो। सम्मेलन शनिबार केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू