(काठमाडौं) – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला पक्षिय जिल्ला सभापतिहरुको भेला आजबाट सुरु हुँदैछ । ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने हुने भेलामा ५० भन्दा बढी जिल्लाका सभापतिहरु सहभागी हुने भएका छन् ।
कांग्रेस केन्द्रीय समितिको ११ पुसको बैठकले बहुमतको आधारमा १४ औं महाधिवेशनको मिति तोक्ने, विभागहरुको संख्या दोब्बर बनाउनेलगायतका निर्णय गरेपछि रुष्ट बनेको संस्थापनइतर समूहले जिल्ला सभापतिहरुलाई काठमाडौंमा भेला गरेर छलफल गर्न लागेको हो ।
कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका, विभाग र भातृ संगठन नेविसंघ, तरुणदल गठन लगायतका विषयमा पार्टीको बहुमतले गरेको निर्णयको विषयमा असहमति जनाउँदै आएको पौडेल र सिटौला पक्षले पार्टीको बहुमतले गरेको निर्णयलाई सच्याउनका निम्ती दबाब दिने उद्देश्य स्वरुप भेला आयोजना गरिएको नुवाकोट कांग्रेसका सभापति जगदिश्वरनरसिंह केसीले बताए ।
केसीले भने, “पार्टीको धारा निलम्बनको विषयमा असहमती जनाउँदै बहुमतको आडमा लिईएका एकलौटी निर्णयलाई सच्याउनका निम्ती नेतृत्वलाई दबाब दिईनेछ ।”
महासमिति बैठकको निर्णय यथावत राख्नुपर्ने सँगै क्रियासिल सदस्यता लगायतका विषयमा बहुमतको आडमा लिईएका एकलौटी निर्णय खारेज गर्नुपर्ने विषयमा पार्टी महामन्त्री डा शशांक कोईराला निवासमा समेत छलफल भएको सिन्धु कांग्रेसका सभापति विकास लामाले बताए ।
पौडेल, सिटौला पक्षले बोलाएको जिल्ला सभापतिहरुको भेलमा सभापति शेरबहादुर देउवा पक्षिय सभापतिहरु भने हुने छैनन ।
जिल्ला सभापति भेलाबाट देउवा पक्षिय केन्द्रीय समितिले गरेका निर्णयहरु सच्याउन दबाब दिईने, उक्त दबाबपछि पनि देउवा पक्षले निर्णय नसच्याए राष्ट्रिय स्तरमै सांसद, पूर्व सांसद, पूर्व केन्द्रीय सदस्यहरु, भातृ संस्थाका पदाधिकारी एवं सदस्यहरुसँगै महाधिवेशन प्रतिनिधिको भेला सातै प्रदेशमा आयोजना गरिने र सो भेलाको सुझावबाट अघि बढ्ने तयारी रहेको कांग्रैसले जनाएको छ ।