काङ्ग्रेस खेलकुद विभागको साताव्यापी रक्तदान कार्यक्रम सुरु

25

काठमाण्डौं – नेपाली काङ्ग्रेस खेलकुद विभागले सप्ताहव्यापी रक्तदान कार्यक्रम सुरु गरेको छ । कोरोना भाईरसको प्रभाव जनसंख्याको आधारमा दक्षिण एसिया कै उच्च बिन्दुमा पुग्नुको साथै बाढी पहिरोको उच्च प्रभावको कारण बिरामीहरुको उपचारको लागि रगत अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै यो कार्यक्रम सुरु गरीएको नेपाली काङ्ग्रेस खेलकुद विभागले जनाएको छ ।

“रक्तदान जिवनदान” भन्ने मुल नारा सहित नेपाली काङ्ग्रेस खेलकुद विभागले पुर्व सुचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं पार्टी खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेत, नेपाली काङ्ग्रेस ललितपुर जिल्ला सभापति पुर्व माननीय मदन अमात्यको उपस्थितिमा मंसिर ७ गते स्वास्थ्य मापदण्ड अपनाउदै सप्ताहव्यापी रक्तदान कार्यक्रमको उद्घाटन गरिएको हो । ललितपुर काङ्ग्रेसको सक्रियता एवं केन्द्रिय खेलकुद विभागका सचीव मीन कृष्ण महर्जनको समन्वय र खेलकुद विभाग सदस्य नारायण देव राणाको संयोजकत्वमा उद्घाटन गरिएको हो ।

जनस्वास्थ्यको सवालमा सरकार उदासिन बन्दै गर्दा नेपाली काङ्ग्रेस राष्ट्रको जिम्मेवार पार्टी भएकोले जनताप्रति ऐतिहासिक भुमिका र जिम्मेवारी कायम गर्दै कम्तिमा पनि बिरामीहरुलाई रगतको आपूर्तिमा सम्भव भए सम्म सहयोग पुर्याउने उद्देश्यले उक्त रक्तदान कार्यक्रम गरिएको विभागका प्रमुख पुर्व सुचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बताए ।

त्यस्तैगरि उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस ललितपुर जिल्ला सभापती पुर्व माननीय मदन अमात्यले राष्ट्र मै रगतको अभाव भईरहेको अवस्थामा नेपाली काङ्ग्रेस राजनीतिक कुरा गर्ने पार्टी मात्र नभई समाजवादलाई शिरोपर्य गर्ने पार्टी भएकाले यस्तो जनसेवाको भाव सहित रक्तदान कार्यक्रम गरिएकोमा सिङ्गो नेपाली काङ्ग्रेस खेलकुद विभागलाई धन्यवाद ज्ञापन गरेकाथिए।

उक्त रक्तदान कार्यक्रम देशका विभिन्न जिल्लाहरुमा मङ्सिर १४ गते सम्म स्वास्थ्य मापदण्ड सहित चल्नेछ र विभागले आदरणीय दिदिबहिनी दाजुभाई तथा तरुण युवाहरुलाई रक्तदानको लागि अपिल समेत गरेको छ ।

समाचार वर्गहरू