ऐंसेलुखर्क, खोटाङ – सामान्य किसान जस्तै घाँस दाउरा मेलापात अर्म पर्म र बाख्रागोठालोमा आफ्नो दैनिकी चलाइरहेका आनन्द राईको असामान्य कार्य हो काठको मुर्ति बनाउनु ।
ढुङ्गा र धातुको मुर्ती धेरै बनेपनी विरलै बन्ने काठको आकृती बनाउन मन पराउँछन् आनन्द । काठको भए बोक्न घरमा सजाउन सजिलो हुने मात्र नभइ खेर जाने काठको उचित सदुपयोग हुने उनको तर्क छ ।
न कुनै सिपमुलक तालिम न अत्याधुनिक औजार सिर्फ राँमो बसिला र ह्याम्मरको भरमा कैयौं काठका ठुटाहरलाई जिवजन्तु र देवी देवताको आकार दिइसके आनन्दले । उनले अहिलेसम्म चिल बुद्ध शिव बाघ लगायतका आकृती बनाइसकेका छन् ।
गोठालो जाँदा होस् अथवा मेलापात गर्दा काठको मुढो देख्योकी बोकिहाल्छन् उनि । त्यति मात्रै होइन गोठालोजाँदा जंगलमा भएको मुढामै पनि मुर्ति कुँदेर छोडेका छन् उनले । घरमा ल्याउन सम्भव नभएपछी जंगलमै बाघको आकृती बनाएको उनको भनाइ छ ।
खोटाङको ऐंसेलुखर्क-५ महेश्वरीमा स्थायी घर भएका आनन्द रोजगारीको सिलसिलामा कतारसम्म पनि नपुगेका होइनन् तर परिश्रम अनुसारको पारिश्रमिक नपाएपछी करिब एक बर्ष बसेर फर्किएका थिए ।
केहि समय पोखराको होटलमा जागीर खाएका राईलाई विदेशीले मौलिक र हस्तकलाका सानहरु रुचाएको देखेपछी आफुलाई पनि काठको मुर्ती बनाउने चाहना बढेको बताए । ‘विदेशीले हस्तकलाका सामान मनपराएको देखेर मलाईपनी मुर्ती बनाउन मन लाग्यो । प्रयास गरेपछी बनाउनपनी थालें तर औजार पनी छैन, रङ पनी छैन अनी बनाएपनी कसैले लाँदैन। कहाँ लगेर कसलाई बेच्नु ?’ उनको गुनासो थियो ।
‘मैले बनाएका मुर्तीहरु अरु हस्तकलाहरु त्यसै जतापनी लगेर बेच्न पाइँदैन रे, उद्योग दर्ता गर्नुपर्छ रे, कर तिर्नुपर्छ रे, जंगलबाट मुढा ल्याउन पनी पाइँदेन रे, यो झमेला अनि खर्च गरेर पनी कमाइको ग्यारेन्टी छैन, त्यसैले मनै मरेर आउँछ’, उनले एकै सासमा आफ्नो गुनासो पोखे ।
उनि भन्छन् ‘कतै आफ्नो कला देखाउन पनी पाइने र कमाइ पनी हुने ठाउँ पाए आफ्नो शिपलाई अझै बढाउँदै लैजाने मन छ ।’ आफुले अहिलेसम्म काठको मात्रै मुर्तिहरु बनाएको भएपनी अवसर पाउँदा ढुङ्गा तथा धातुको पनी बनाउनसक्ने उनको भनाइ छ ।
उनका बुबा रामेश्वर राई भन्छन् ‘मुढा देख्योकी केहि न केहि बनाउन थालीहाल्छ बरु यसलाई यही काम खोजेर लगाइदिन पाए बेश हुन्थ्यो ।’