काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिएका छन्।
शनिबार सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्ने क्रममा उनले वर्षायाममा मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्थामा अन्य स्रोतबाट पानी व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।
उनले काठमाडौँवासीका लागि बाह्रै महिना सफा, शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आग्रह गर्दै भने, ‘मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण पानी हो, काठमाडौँमा वर्षभरि सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न जे आवश्यक पर्छ, त्यो गर्नुस्, बजेट, आधुनिक उपकरण र जनशक्ति जे चाहिन्छ मन्त्रालयबाट म व्यवस्था गर्छु।’
मन्त्री यादवले काठमाडौँमा आधुनिक पानी प्रशोधन केन्द्रहरूको स्थापना, पुराना पाइपलाइनको मर्मत तथा पुनःनिर्माण, डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्ने योजना पनि सुनाए। ‘पानी वितरणलाई प्रभावकारी बनाउन र जनतालाई सन्तुष्ट पार्न हामीले डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्नेछौँ,’ उनले भने।
मन्त्री यादवले मेलम्ची सुरुङ आउटलेटसँगै मेलम्ची खानेपानी प्रशोधन केन्द्र, बागमतीबाट प्रशोधन केन्द्रमा आउने पानीको प्रणाली, पानी प्रशोधन ल्याब, सुपरभिजन कन्ट्रोल एन्ड डेटा एक्युजीसन सेन्टरलगायतको निरीक्षण गरेका थिए।