काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार दिउँसै बाक्लो कालो बादलले आकाश ढाकेपछि ुरातु परेजस्तै अँध्यारो भएको छ। केही बेरअघि सम्म घाम लागिरहेको उपत्यकामा अचानक मौसम बदलिएर मेघगर्जन र हावाहुरीसहित वर्षा सुरु भएपछि जनजीवन प्रभावित भएको हो।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले गर्दा उपत्यकाको आकाशमा बाक्लो कालो बादल मडारिएको छ। दिउँसै अँध्यारो भएपछि सडकमा गुड्ने सवारी साधनहरूले हेडलाइटु बालेर यात्रा गर्नुपरेको थियो। कोटेश्वर, बानेश्वर, रत्नपार्क र चक्रपथ क्षेत्रमा गुड्ने सवारी साधनहरू दिउँसै बत्ती बालेर मन्द गतिमा गुडिरहेका छन्।
मौसम पूर्वानुमान महाशाखाले यसअघि नै पानी पर्ने प्रक्षेपण गरेअनुसार काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। उपत्यकामा तीव्र गतिको हावाहुरी चलेका कारण कतिपय स्थानमा पैदलयात्री र मोटरसाइकल चालकहरू सडकमै रोकिएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार, अहिले देशभर पश्चिमी वायुको सक्रियता बढेको छ। यो प्रि(मनसुनको समय भएकाले अचानक बादल लाग्ने र छोटो समयमा भारी वर्षा हुनु स्वाभाविक हो।
रुपन्देहीको बुटवल लगायतका क्षेत्रमा आज दिउँसै अँध्यारो भएको छ । बादलसँगै हावाहुरी र वर्षाका कारण बुटवल लगायतका क्षेत्रमा दिउँसै अँध्यारो भएको हो । अँध्यारोका कारण बुटवल बजार क्षेत्रमा गुडेका गाडीहरूले दिउँसै बत्ती बाल्नु परेको थियो भने तीव्र हावाहुरीका कारण सडकमै गाडी रोक्नुपर्ने अवस्था आएको थियो ।
मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार नै लुम्बिनी प्रदेशको रुपन्देही लगायत दाङ, बाँके, कपिलवस्तु लगायतका जिल्लामा हावाहुरी चलेको छ । केहीबेर हावाहुरी चलेपछि अहिले पानी पनि परिरहेको छ ।
पानी पर्न थालेसँगै कालो बादल हटेर केही उज्यालो देखिन थालेको छ ।