काठमाडौं – काठमाडौंको टोखामा गोली चलेको छ । टोखाको ग्राण्डी अस्पताल नजिकै लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।
नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले गोली चलाएर दुई जना लागुऔ’षध कारोबारीलाई नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) जनकबहादुर शाहीले जानकारी दिए।
भारतको पश्चिम बंगाल राज्यस्थित इस्लामपुर घर भएका ४० वर्षीय शशिक आलम र २२ वर्षीय मोहम्मद मज्जरलाई प्रहरीले घाइते बनाएर नियन्त्रणमा लिएको हो । घुँडामुनि गोली लागेका कारण उनीहरु खतरामुक्त छन् । उनीहरुबाट २०० ग्रामभन्दा बढी खैरो हेरोइन बरामद भएको छ ।
नियन्त्रणलगत्तै प्रहरीले उनीहरुलाई उपचारका लागि शुरुमा महाराजगञ्जस्थित प्रहरी अस्पताल लग्यो । पछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए ।
प्रहरीका अनुसार टोखा नगरपालिका वडा नं–३ मा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा ब्न्युरोको टोली त्यहाँ पुगेको र त्यहाँ भेटिएका दुबैजनालाई नियन्त्रणमा लिने प्रयास हुँदा निजहरूले फलाम रडले प्रहरीमाथि आक्रमण गरेको र त्यसपछि प्रहरीले गोली चलाउनु परेको हो।
उनीहरूको आक्रमणबाट प्रहरी वरिष्ठ हबल्दार नवराज घिसिङ र प्रहरी सहायक हबल्दार रवीन्द्र केसी घाइते भएका छन्। घाइतेहरू सबैको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको।