काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लु देखिएको छ । तारकेश्वर नगरपालिका– १ स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्ड फ्लु भएको पुष्टि भएको हो ।
तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको हाँस र कुखुरामा बर्ड फ्लु पुष्टि भएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए ।
पशु सेवा विभागका अनुसार बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र नदिन र तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरिएको छ ।
रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले जनाएको छ । यस क्रममा १४२१ हाँस, ४२ स्थानीय कुखुरा, २६ अण्डा र ८०० केजी दाना नष्ट गरि रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिसकिएको विभागले जनाएको छ ।
केही दिनअघि स्थानीय किसानले पालेको हाँस र कुखुराको नमूना त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । परीक्षणपछि हिजो बेलुका बर्डफ्लु भएको पुष्टि भएको हो ।
केही दिनअघि तारकेश्वर– ७ स्थित साङ्लेखाला, फटुङका किसानले पालेका टर्की हाँसमा बर्ड फ्लु पुष्टि भएको थियो । बर्ड फ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको थियो ।