काठमाडौंको मुलपानीमा प्रहरीले गोली हानी १० जना पक्राउ

9

काठमाडौं । काठमाडौंको मुलपानीबाट प्रहरीले गोली चलाएर १० जनालाई पक्राउ गरेको छ । लुटपाटमा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।

सोही टोलीले गएराति लुटपाटमा संलग्न १० व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए । पक्राउको क्रममा गोली समेत चलाउनु परेको उनले बताए । यस सम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

प्रहरीको गोली लागेर लुटेरा समूहका एकजना नाइके घाइते भएको बताइएको छ । उनलाई उपचारको लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ । लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रहरी काठमाडौँले जनाएको छ ।

प्रहरीले दुई राउन्ड गोली चलाएको समेत बताइएको छ । उपत्यकामा लुटपाट आतङ्क मच्चाउँदै आएका १० जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई नियन्त्रणमा लिने क्रममा दुईजना प्रहरी समेत घाइते भएका छन् ।आरोपीहरूले गौशाला, स्वयम्भू, बौद्ध र भक्तपुरमा लुटपाट आतङ्क मच्चाउँदै आएका थिए । पक्राउ परेका लुटेराहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।  सो घटनाको बारेमा थप समाचार आउन बाँकी रहेको छ ।

समाचार वर्गहरू