काठमाडौं उपत्यकामा यी १० गतिविधि निषेध

23

काठमाडौं – कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ३ दर्जन भन्दा बढी सेवा र व्यापार/व्यवसाय सञ्चालन गर्न रोक लगाएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले कोरोना संक्रमण नियन्त्रण गर्न अर्को आदेश नभएसम्म यी क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय र सेवा सञ्चालन गर्न नपाइने लगायत १० बुँदे आदेश जारी गरेको हो ।

संक्रमणको जोखिम बढे पनि भीडभाड गर्ने, भेला हुने, जुलुस गर्ने लगायतका क्रियाकलाप हुन थालेको भन्दै तीन वटै प्रशासन कार्यालयले  आदेश जारी गरेको हो ।

सो आदेश शुक्रबार राति १२ बजे देखि भदौ १५ गते राति १२ बजेसम्म लागू हुनेछ । आदेशको उल्लंघन गरे स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम कारबाही गर्ने उनले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

प्रजिअ दाहालले खुल्ला स्थानमा मानिस भेला/जम्मा हुन, भीडभाड गर्न, सभा/जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन, दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि, स्वास्थ्य मापदण्ड विपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्य सम्बन्धी जमघट लगायतलाई निषेध गरिएको बताए ।

त्यस्तै सबै प्रकारका सभा/गोष्ठी, तालिम, सेमिनार, हल/पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङपुल, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको दाहालले बताए । संयुक्त सुरक्षा बैठकले संग्रहालय, चिडियाखाना, फुटपाथ/खुल्ला ठाउँ र ठेलागाडा तथा साइकलबाट सञ्चालित व्यापार/व्यवसाय, कवाडी संकलन, स्वास्थ्य मापदण्ड विपरित श्रमिक/कामदार ओसारपसार तथा टेकवेबाहेक होटल/रेस्टुरामा पनि जमघट गर्न प्रतिबन्ध लगाएको छ ।

समाचार वर्गहरू