काठमाडौं महानगरभित्रका ४६५ विद्यालयले बुझाए छात्रवृत्ति विवरण

4

काठमाडौं – काठमाडौं महानगरपालिकाभित्रका पाँच सय चार नीजि विद्यालयमध्ये चार सय ६५ विद्यालयले छात्रवृत्ति विवरण बुझाएका छन् । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहको ताकेता पछि विद्यालयले छात्रवृत्तिको विवरण बुझाएको हो ।

चार सय ६५ विद्यालले बुझाएको विवरणमा १३ हजारभन्दा बढी लक्षित वर्गका विद्यार्थीले छात्रवृत्ति पाएको महानगरले जनाएको छ ।

महानगरलाई प्राप्त विवरणका आधारमा विद्यालयको निरीक्षणसमेत गरिने महानगर प्रमुख शाहले बताएका छन् । महानगरले छात्रवृत्ति विवरण नबुझाउने ३९ निजी विद्यालयलाई १ लाख रुपैयाँसम्मको दरले जरिवाना तिराउने भएको छ ।

मेयर बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्चालमा लेख्दै हालसम्म विवरण नपठाउने विद्यालयलाई जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने जनाएका छन् ।

मंगलबार महानगरप्रमुख शाहले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्ः

काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले छात्रवृत्ति विवरण बुझाएका छन् । महानगरको इतिहासमा यो पहिलो पटक हो । त्यसबाट लक्षित वर्गका १३००० भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन् । प्राप्त विवरणमाथि निरीक्षण गरी सो सूची प्रकाशित गरिनेछ।

हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइनेछ। त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ ।

विद्यमान कानुनी प्रवन्ध कार्यान्वयन गर्दा यी १३ हजार विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएका हुन् । कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू