कामनपाले राजधानीका ४१ डिजिटल बोर्ड हटाउने

70

काठमाडौं – काठमाडौं महानगरपालिका प्रहरीले राजधानीका सबै डिजिटल बोर्ड हटाउन शुरू गरेको छ ।

कामपा प्रहरी बलको टोलीले कामपाले गत वर्ष जारी गरेको १४ बुँदे सर्त पालना नगरेको भन्दै बुधबार मध्यबानेश्वरको आइप्लेक्स कम्प्लेसबाट डिजिटल बोर्ड हटाउने कार्य शुरू गरेको हो ।

कामपा प्रहरी बलका प्रहरी प्रमुख राजु पाण्डेले मेयरको निर्देशनअनुसार बोर्ड हटाउन शुरू गरेको जानकारी दिँदै भने–‘राजधानीका विभिन्न स्थानमा राखिएका र रेकर्डमा भएका ४१ वटा बोर्ड छन्, सबै हटाउनेछौं ।’ १४ बुदे सर्तमध्ये घरको छत, कौसी, र झ्याल छोपेर विज्ञापन सामग्री राख्न नपाइने बुँदालाई आधार मानेर सबै बोर्ड हटाउन शुरू गरिएको उनले बताए ।

कामपा प्रशासन विभागले २०७९ साल जेठ २१ गते कामपाको कर निर्देशिका २०६४, विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियम गर्ने नीति २०७० र कामपाको आर्थिक ऐन २०७८ विपरीत बोर्ड राख्न नपाइने, विज्ञापनको सामग्री राख्दा र परिवर्तन गर्दा कामपालाई जानकारी दिनुपर्ने बुँदाहरूलाई समेटेर १४ बुँदे सर्त जारी गरेको थियो ।

उक्त सर्तमा बाटोको सिमानादेखि १० फिट, सँधियारको सिमानादेखि ५ फिट, सार्वजनिक स्थान, संस्था, कार्यालय र सार्वजनिक सेवा प्रवाह गर्ने स्थानमा विज्ञापन सामग्री राख्न नपाइने बुँदा पनि समावेश छ ।

त्यस्तै, एक स्थानमा एउटामात्र विज्ञापन बोर्ड राख्न पाइने र सो बोर्ड समतल आकारको हुने, विज्ञापन राख्दा कुनै विशेष अवसरमा सार्वजनिक हितको विषयमा सूचना प्रदान गरेरमा प्रशारण गर्न दिनुपर्ने, विज्ञापन प्रचार सामग्रीको गुणस्तर नेपाल सरकारले तोकेअनुसार हुनुपर्नेलगायतका सर्त छन् ।

समाचार वर्गहरू