बनेपा – म्यान्मारका शरणार्थी करण हप्पिसले घर बनाउने ठाउँमा पर्खाल लगाउने काम गर्न थालेका छन् । बसोबास गरेको ठाउँ नजिकै स्थानीय बासिन्दाले घर बनाएको ठाउँमा काम गर्न थालेको हप्पिसले बताए । त्यसरी काम गरेबापत दिनको ६ देखि ७ सय सम्म ज्याला पाउने गरेको उनको भनाइ छ । ती परिवारका पुरुष व्यक्तिको काम दैनिक गुजारा चलाउन काम खोज्ने र श्रम गर्ने रहेको छ । यसअघि अरु पनि थप आउने कुरा भएर टहरा बनाउने काम गरेका ती समुदायले पछि नआउने भएकाले भत्काएका थिए ।
म्यान्मारबाट आएका शरणार्थी रोहिङ्गा समुदायका १० परिवार अहिले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीमा आएर बसोबास गर्दै आएका छन् । करिब एक महिना अगाडिदेखि बसोबास गर्दै आएका ३४ जना अहिले परिवार पाल्नका लागि कामको खोजीमा रहेको छ । नुर हप्पिसका अनुसार अरु परिवार पनि आउने कुराले उनीहरुका लागि पनि घर बनाएको तर पछि नआउने भनेपछि बनाएको टहरा पनि भत्काएको हो । २१ वटा टहरा बनाएकामा अहिले नौ वटा भत्काएर बाँकी टहरा भने प्रयोग गरिहेका छन् । बनाएको टहराको परिवारअनुसार स्वयंले भाडा दिने हप्पिसले बताए ।
भाडा कति दिने भन्ने केही निश्चित नभएको उनले बताए । “काम गरेर परिवार पाल्ने र भाडा तिर्ने हो”, उनले भने, “कामको खोजीमा हामी आफँै यहाँ आएका हौँ, खोज्दै आउने क्रममा यहाँ आइपुग्यौँ ।” ती समुदायका १० परिवारको ३४ मध्ये १३ जना साना बालबालिका र ५५ वर्षसम्मका व्यक्ति रहेका छन् । नुरका अनुसार नेपालमा शरणार्थी भएर बस्दै आएका उनीहरु एक जना बालबालिकालाई विद्यालय भर्ना गरेपछि युएनबाट वर्षको एक जनाको १२ हजार पाउने गरेका छन् ।
पहिला सबैले पैसा पाउने गरेको भए पनि बजेट कम भएको भन्दै ठूलो मान्छेलाई दिएको रकम कटौती गरेर बालबालिकालाई भर्ना गरेको आधारमा पैसा दिँदै आएको उनको भनाइ छ । तर काम गरी खाने परिवार भएकाले कामको खोजीसँगै सर्दै हिँड्नुपर्ने भएकाले बालबालिकालाई पढाउने कुनै टुङ्गो नभएको उनले बताए । यता आएपछि विद्यालयका शिक्षकसँग कुरा भइरहेको र काम पाएपछि बालबालिकालाई विद्यालय भर्ना गर्ने नुरले बताए । यो समुदायका महिलालाई घरको काम मात्रै गर्ने र बालबच्चाको हेरचाह गर्ने जिम्मा दिएको उनको भनाइ छ ।
रोहिङ्गा समुदायका अर्का व्यक्ति मोहमत एसुपले आफूहरुले कसैको केही नबिगारेको र परिश्रम गरेर खाँदै आएका कारण आफूहरुदेखि सशङ्कित हुनुपर्ने अवस्था नरहेको बताए । सो समुदायका मानिस यो ठाउँमा आएर बसोबास गर्न थालेपछि स्थानीय बासिन्दा सशङ्कित भएको भन्दै आफूहरु पनि परिवारसहित आएको र श्रम गरी खाने मान्छे भएका कारण सशङ्कित हुनुनपर्ने उनको भनाइ छ । ‘युएनले पहिला दिँदै आएको पैसा अहिले दिएको छैन, कसरी बाँच्ने ?”, उनले भने, “हामीले कसैलाई डिस्टर्ब गरेको छैन, हामीलाई परिश्रम गरेर खान पाउने अवस्था बनाइदिनुस् ।”
आफूहरुलाई वर्माबाट निकाला गरेपछि यहाँसम्म आइपुगेको र अरुलाई नराम्रो ग¥यो भने आफूहरुको पनि बालबालिका भएकाले आफू र आफ्नो बालबालिकाको सुरक्षाका लागि सबैसँग मिलेर श्रम गरी कमाएर खाँदै आएको उनको भनाइ छ । ती परिवार अहिले सत्यराम थापाको जग्गामा बस्दै आइरहेका छन् । “जग्गा खाली देखेपछि हामीले भाडामा दिनुस् भनेर आग्रह गरी घर बनाएर बसेका हौँ”, उनले भने, “भाडा कति लिने र कति समय बस्ने भन्ने कुनै कुरा भएको छैन ।”
पनौती नगरपालिका वडा नं ३ का वडाध्यक्ष ईश्वर थापाले कामको खोजी गर्दै आउने क्रममा रोहिङ्गा परिवार कुशादेवीमा आइपुगेको बताए । उनका अनुसार काठमाडौंको कपनबाट आएका १० परिवारका ३४ जना करिब एक महिनादेखि यहाँ बस्दै आएका छन् । शुरुमा १४० जनाको सङ्ख्यामा नयाँ मान्छे आएर बस्ने भनिए पनि कम सङ्ख्यामा आएका ती समुदाय नयाँ मान्छे भएकाले स्थानीय बासिन्दा सशङ्कित भएको उनले बताए । कपनमा बस्दै आएका ती समुदाय त्यहाँका जग्गा भाडा सम्झौता सकिएपछि विकल्प खोज्दै यता आएको पाइएको छ । त्यसरी आएर बसेका ती समुदायले वडामा अरु केही जानकारी नगराएको वडा अध्यक्ष थापाले जानकारी दिए ।
रासस