कारोबारको पहिलो दिन नेप्से ४० अंकले घट्यो

22

काठमाडौं – सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा करीब ४० अंकले गिरावट आएको छ । बजार परिसूचक नेप्से आइतनबार ३९ दशमलव ९८ अंकले घटेर एक हजार ९ सय ९८ दशमलव ६५ बिन्दुमा पुगेर बन्द भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । कारोबारको पहिलो दिन नेप्सेमा आज कुल २ सय ४ कम्पनीका ४२ हजार ८ सय ४२ कारोबारबाट ८२ लाख ५४ हजार ७ सय ८ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ४ अर्ब ६६ करोड ९३ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्सेमा आज कारोबार भएका सबै कम्पनी समूहको उपसूचक ओरालो लाग्दा समग्र बजार नै प्रभावित बन्यो । सबैभन्दा बढी होटल समूहको उपसूचक ४ दशमलव ६६ प्रतिशले घटेको छ ।

यस्तै, जीवन बीमा समूहको ३ दशमलव ७९ प्रतिशत, अन्यको २ दशमलव ७५ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ५ प्रतिशतले घटेको छ ।

पहिलो दिन नेप्सेमा आइतबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६८ करोड ३९ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, नबिल बैंकको ४० करोड ४९ लाख २१ हजार र एनआईसी एसिया बैंकको २६ करोड ८५ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

समाचार वर्गहरू