कार्कीले अवज्ञाको प्रस्ताव अवज्ञा गरेपछी राष्ट्रियसभामा अर्यालको मनोनयन ‘अनिश्चित’

142

काठमाडौँ । राष्ट्रियसभा सदस्यमा सरकारले गृहमन्त्री ओमप्रकाश अर्याल लाई सिफारिस गरे पनि उनको नियुक्ति भने अनिश्चित भएको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने तीनमध्ये रिक्त एक सिटमा लागि प्रधानमन्त्री सुशीला कार्कीले अर्याललाई सिफारिस गर्ने निर्णय गरे पनि त्यसले पूर्णता पाउनेकुरा भने अनिश्चित बनेको हो।

वामदेव गौतमले प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि राष्ट्रपतिले मनोनीत गर्ने एक सिट खालि थियो।

खालि रहेको ठाउँमा मनोनीत गर्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री कार्कीबीच मतभेद भएको स्रोतको दाबी छ।

राष्ट्रपति पौडेलले आफ्नी छोरी अवज्ञा पौडेललाई नै राष्ट्रियसभामा सिफारिस गर्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरेका थिए। छोरी अवज्ञाले पनि बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएको जानकार स्रोतले बतायो। अवज्ञाको आग्रहलाई प्रधानमन्त्री कार्कीले अवज्ञा गरेकी थिइन्। अवज्ञा हाल राष्ट्रपतिको निजी सचिवालयमा कार्यरत छिन्।

तर कार्कीले आफ्नै क्याबिनेटमा मन्त्री अर्याललाई नै सिफारिस गरेपछि चौतर्फी आलोचना भइरहेको छ। अर्याल आफैँ सहभागी मन्त्रिपरिषदले सिफारिस गरेपछि ‘आफूले आफैँलाई तक्मा लगाएको’ भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ। आफ्नो सिफारिससम्बन्धी जानकारी सञ्चारकर्मीहरूलाई मन्त्रिपरिषद्‌बाट निस्केर अर्याल स्वयंले दिएका थिए।

अर्यालको सिफारिस आफ्नो चाहना विपरीत हुनुका साथै सार्वजनिक रुपमा समेत चर्को रुपमा प्रश्न उठेकाले राष्ट्रपति पौडेललाई त्यसबारे मौन बस्ने बलियो आधार बनेको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले संविधानको धारा ८६ (२) (ख) अनुसार अर्याललाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तिमा एक महिलासहित तीनजना नियुक्त हुने संवैधानिक व्यवस्था छ।

समाचार वर्गहरू