कार्यालय समयमा सेयर कारोबारमा रोक लगाउने तयारी

69

काठमाडौं – सरकारले सिंहदरबारभित्रका कर्मचारी कार्यालय समयमा सेयर कारोबारमा व्यस्त भएपछि सो समयमा सेयरकारोवारमा रोक लगाउने तयारी गरेको छ ।

कर्मचारी कार्यालय समयमा सेयर कारोबारमा व्यस्त भएपछि सेवा अवधीमा अवरोध भएको भन्दै केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछी अख्तियारको टिमले सिंहदरबारमा छड्के अनुसन्धान गरेको थियो ।

सो क्रममा उजुरीअनुरुप विभिन्न मन्त्रालयका केही कर्मचारीले सेयर कारोबार गर्ने गरेको पाइयो । ‘कार्यालय समयमै सरकारी स्रोत, साधनलाई व्यक्तिगत प्रयोजनमा खर्चिएको पाइयो’ अख्तियार स्रोतले भन्यो ‘सिंहदरबारभित्र त्यसरी कारोबार हुँदा सेवामा असर पारेकाले प्रधानमन्त्री कार्यालयलाई सिंहदरबारभित्र कर्मचारीलाई सेयर कारोबारमा निरुत्साहन गर्न भनेर पत्र पठाएका छौं ।’

प्रधानमन्त्री कार्यालयले सो पत्र अध्ययन गर्दै आईटीको टिमसँग हाल छलफल गरिरहेको छ । छलफलपछि सिंहदरबारभित्र सेयर कारोबारलाई निरुत्साहन गर्नेगरी निर्देशन गरिने भएको छ ।

सिंहदरबार मात्रै नभई मुख्यतः काठमाडौंका कयौं सरकारी कार्यालयहरुमा कार्यालय समयमा सेयर कारोबार हुने गरेको छ । कर्मचारी सेयर कारोबारमा व्यस्त हुँदा सार्वजनिक सेवामा असर पर्ने मात्रै नभई सरकारी स्रोत साधन समेत व्यक्तिगत प्रयोजनमा दुरुपयोग हुने गरेको छ ।

समाचार वर्गहरू