काठमाडौं – राष्ट्रियसभामा पेश भएको संकल्प प्रस्ताव पारित भएको छ । ‘नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रको सीमा विवाद सम्बन्धी विषयमा’ प्रस्तुत संकल्प प्रस्ताव सर्वसम्मत पारित भएको हो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचेतक खिमलाल भट्टराईले प्रस्तुत गरेका प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सचेतक सरिता प्रसाईंको समर्थन छ ।
प्रस्ताव प्रस्तुत गर्दै नेकपा सचेतक भट्टराईले लिपुलेक, लिम्पियाधुरालाई भारतीय भूमिमा राखिनु अविभाज्य नेपालका लागि सह्य नहुने भन्दै सरकारले यस विषयमा सशक्त रूपमा कूटनीतिक पहल गर्न प्रस्ताव दर्ता गरिएको बताए ।
“कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालका अविभाज्य भूमि हुन् । नेपाल सरकारले यसलाई अझ सशक्त ढंगका साथ कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहलकदमी गरी नेपालकोे भूभाग अक्षुण्ण राख्ने, कालापानी क्षेत्रबाट वर्षौंदेखि रहँदै आएको भारतीय सेना हटाउन राष्ट्रको आवाज एकतावद्ध बनाउन यो संकल्प प्रस्ताव प्रस्तुत गर्दछौँ,” संकल्प प्रस्तावमा उल्लेख छ ।
सांसद राधेश्याम अधिकारीले नक्शा सार्वजनिक भएपछि सुषुप्त रहेको विवाद सतहमा आएको उल्लेख गर्दै प्रधानमन्त्री तहबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
पारित संकल्प प्रस्तावलाई तत्काल कार्यान्वयनमा लैजान पनि राष्ट्रियसभाले सरकारलाई निर्देशन दिएको छ ।