कालीकोटमा बेवारिसे बम विस्फोट हुँदा २ बालिकाको मृत्यु

5

काठमाडौं – कालीकोटमा बेवारिसे बम बिस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको छ भने तीन जना बालबालिका गम्भीर घाइते भएका छन्।

तिलागुफा नगरपालिका–१० रानावाडामा शनिबार बिहान ८ बजे बेवारिसे बम बिस्फोट भएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ।

उक्त घटनामा ३ वर्षीया बालिका झरना थापा र ४ वर्षीया बालिका सरस्वती रानाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए। उनका अनुसार झरनाको घटनास्थलमै मृत्यु भएको थियो भने सरस्वतीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो।

उक्त घटनामा गम्भीर घाइते हुनेहरूमा तिलागुफा नगरपालिका–१० रानावाडाका ७ वर्षीय बालक कमल थापा, ५ वर्षीय मुस्कान थापा र ३ वर्षीया बालिका दर्शना राना छन्।

स्थानीयका अनुसार गाउँका पाँच बालबालिकाले खेल्ने क्रममा अनौठो वस्तु देखेर चलाउँदा बिस्फोट भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी जयश्वर रिमालका अनुसार बम विस्फोट भएको ठाउँको जमिनमा प्वाल परेको छ।

समाचार वर्गहरू