काठमाडौं – कवि तथा गीतकार कालीप्रसाद रिजालको सस्मरणात्मक जीवनकथा ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक भएको छ । नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम ’पलेँटी’ मा शनिबार रिजालको नयाँ पुस्तक विमोचन भएको हो ।
नेपाली सांगीतिक र साहित्यिक जगतमा अलग्गै उचाइ हासिल गरेका कालीप्रसाद लामो समय सरकारी सेवामा कार्यरत थिए । वि.सं. १९९६ मा विराटनगरमा जन्मेका रिजालले ‘काँडामा हाँसेको जिन्दगी’मा त्यो बेलाको विकट नेपाल र आफ्नो व्यक्तिगत जीवनयात्रालाई समेटेका छन् । शनिबारको पलेँटीमा रिजालले भोगेको त्यही समय र उनको गीति तथा कविता यात्राको चर्चा भएको थियो । कार्यक्रममा उनले रचना गरेका आठ वटा गीतहरू प्रस्तुत भएका थिए ।
सांगीतिक माहोलमा साहित्यिक चर्चा समेटिएकोले नेपालयको ‘आर’शालाले नियमित पलेँटी भन्दा फरक परिवेशको झल्को दिएको थियो । कार्यक्रमको शुरुवात रिजालको शब्दमा नारायण गोपालले गाएको गीत ‘केही मीठो बात गर’बाट भएको थियो । सँधै नारायण गोपालको स्वरमा सुनेको गीत गायिका मीना निरौलाले गायिकी थिइन् । दोस्रो प्रस्तुति पनि नारायण गोपालकै स्वरमा प्रसिद्ध बनेको गीत थियो । ‘यसैगरि बिताइदिन्छु दुईदिनको जिन्दगी’ बोलको गीतलाई योगेन्द्र उपाध्यायले गाएर सुनाएका थिए । रिजालसँग गीत संगीतका प्रसंगसँगै नारायण गोपालसितको संगतको चर्चा शुरु भएपछि कार्यक्रमले झन् रोचक मोड लिएको थियो ।
यो मोडमा काली प्रसाद रिजालको प्रभावशाली कविता वाचन आरम्भ भयो । आफू सरकारी ओहोदामा हुँदा नेपालको पश्चिमी बादीबस्तीमा पुगेको कारुणिक सस्मरणसँगै रिजालले ‘हामरी बिटियाको नत्था तोडिदिनुहो’ सुनाए । देह व्यापारको विवश दृश्य अंकित उनको कविताले दर्शकका आँखा रसाएका थिए ।
कविता वाचनको लगत्तै उनको सस्मरणात्मक जीवनकथा ’काँडामा हाँसेको जिन्दगी’र उनको काव्यिक व्यक्तित्वमाथि समालोचक रजनी ढकालले समिक्षात्मक टिप्पणी गरेकी थिइन् । समालोचक ढकालले पुस्तकमा रिजालको व्यक्तित्व विकाससँगै त्यसबेलाको समाजको चित्रण रहेको प्रष्ट्याइन् ।
’यो पुस्तक पढेपछि सफलता प्राप्त गर्न मान्छेले कसरी संघर्ष गर्दोरहेछ भन्ने पाटो खुल्छ । यो पुस्तक संघर्षबाट उचाइमा पुगेको व्यक्तिको कथा त हुँदै हो, साथै त्यसबेलाको परिवार र समाज झल्काउने कृति पनि हो’ रजनी टिप्पणी गर्दै भन्छिन, ‘यो पुस्तक पढेपछि कालीप्रसाद रिजाल दाइप्रति मेरो आदरभाव झन् बढेर आएको छ । म एउटी महिला हुँ, आमा हूँ, उहाँले आफ्नी आमाप्रति देखाएको समर्पण भावले अत्यन्तै प्रभावित भएँ । महिलाप्रतिको उहाँको दृष्टि भरखर सुनेको कविता ‘हामरी बिटियाको नत्था तोडिदिनुहोस्’बाट पनि अनुमान गर्न सकिन्छ ।’
त्यसपछि ’काँडामा हाँसेको जिन्दगी’सार्वजनिक गरिएको थियो । साहित्यकार रिजालले दर्शक दीर्घामा उपस्थित मध्ये आफ्नी नातिनी अपूर्वालाई पुस्तक उपहार दिएर कृति सार्वजनिक गरेका थिए । उनले नातिनी मार्फत् नयाँ पुस्तामा आफ्नो कथा पुगोस् भन्ने धेयले विमोचनको यस्तो शैली अपनाएको प्रष्ट्याए ।
पुस्तक विमोचन कार्यक्रम नेपालय पब्लिकेसन्स र पलेँटीको संयुक्त आयोजनामा भएको थियो । नेपालय पब्लिकेसन्सले बजारमा ल्याएको पुस्तक सार्वजनिक भएसँगै साहित्यकार रिजालले रचेको गीत ‘झर्यो। जिन्दगी, टुट्यो जिन्दगी’ प्रस्तुत भएको थियो । पुस्तको शीर्षक नारायण गोपालले गाएको त्यसै गीतको अन्तराबाट लिइएको हो ।
कार्यक्रमको अन्तिम चरण सांगीतिक प्रस्तुति र कविता वाचन हुँदै अघि बढेको थियो । रिजालले वाचन गरेको पजेरो सम्बन्धी कविताले नेपाली राजनीतिको सुविधाभोगी प्रवृत्तिमाथि व्यंग्य गरेको थियो । कार्यक्रममा प्रस्तुत भएका पुराना गीतमा नारायण गोपालका संगीतलाई मात्र समेटिएको थियो ।
पछिल्लो चरणमा प्रस्तुत रिजालका दुईवटा नयाँ रचनामा भने संगीतकार आभासले धुन भरेका थिए । ती दुई रचना मध्ये शहरसँग सम्बन्धित ‘यतै घर उतै घर जता हेर्योप घरैघर, यो शहरमा ओत लाग्ने ठाउँ छैन कतै तर’ गीत र ‘कति खाली च्याउँछ्यौ सँधै भित्रबाट’ गजल शैलीका रचना थिए ।
कार्यक्रमको समापनमा गायक फत्तेमानलाई सम्झना गर्दै ‘बनै खायो डँढेलोले’ प्रस्तुत गरिएको थियो । रिजालको पलेँटीमा वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, प्रकसनमा सुन्दरकुमार महर्जन र गीटारमा सुरज प्रधान रहेका थिए । अँग्रेजी महिनाको अन्तिम हप्ता संचालन हुँदै आएको पलेँटी आइतबार पनि हुँदैछ । आइतबारको सांगीतिक माहोलमा मञ्जुलको गीति यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक हुने कार्यक्रम रहेको कुरा आयोजक संस्था नेपालयले जानकारी गराएको छ ।