कुनै कार्यक्रममा जान एमाले नेताहरूको अनुमति लिन जरूरी छैन : पूर्वराष्ट्रपति भण्डारी

132
फाइल फोटो

काठमाडौं – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कुनै गुटगत राजनीति नगरेको बताएकी छन्।

विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले आफूले कुनै व्यक्तिगत आकांक्षा नराखेको र गुटगत राजनीति समेत नगरेको बताएकी हुन्।

उनले आफूले गुटबन्दी गरेर हिँडेको भनेर एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नै नसक्ने जिकिर गर्दै यो कुरा आफुलाई विश्वास नलागेको समेत उल्लेख गरिन्।

भण्डारीले आफ्नो राजनीतिक जीवन नै एमालेबाटै सुरु भएको र राष्ट्रपति पनि एमालेबाटै भएकाले राजनीतिमा आउँदा एमालेबाटै आउने स्पष्ट पारिन्। भण्डारीले जनताको भावना र राष्ट्रिय आकांक्षा बुझ्न एमालेको कमिटी र त्यसका नेताहरूसँग अनुमति लिन आवश्यक नरहेको उल्लेख गरिन्।

उनले कुनै पनि कार्यक्रममा जानको लागि र आफ्ना विचार राख्नको लागि आफू स्वतन्त्र रहेको समेत बताइन्। एमालेको संगठित सदस्य लिनु भन्दा अगाडि देखि नै पार्टीमा काम गरेको र सबैसँग चिनजान रहेकाले आफूलाई कार्यक्रममा बोलाउनु स्वाभाविक रहेको उनको भनाइ छ।

त्यस्तै पूर्वराष्टपति भण्डारीले देशमा वामपन्थीहरुको एकताको सम्भावना नदेखेको बताइन्। अहिले पार्टी र पार्टीको बीचमा देखिएको विश्वासको संकट देखिएको अवस्थामा राष्ट्रिय एकताको विषयमा राम्रोसँग छलफल गरेर अघि बढ्दा राष्ट्रलाई राम्रो हुने उनको भनाइ छ।

समाचार वर्गहरू