काठमाडौं – कुरियर मार्फत होम डेलिभरी गर्ने भनी सामान नपुर्याई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सविज कुरियर सर्भिस अनलाईन सेवाका संचालक ललितपुर महालक्ष्मी नगरपालिका–५ ईमाडोल बस्ने धनुषा सवैला गाँउपालिका–३ सवेला घर भएका २४ वर्षीय धिरज साहलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले भारतीय अनलाइनबाट किनेको औषधी, मोबाईल, घडी, लेडिज कपडाहरु नेपालमा होम डेलीभरी गराई दिने भनी विश्वासमा पारी २ लाख ७९ हजार ९ सय १० रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले धिरज साहलाई पक्राउ गरेको हो ।
बेबी कार सिट मगाउने पीडितले ईसेवाबाट पठाएको ९ हजार रुपैयाँ, भारतको दिल्लीबाट साडी कुर्था, कपडाहरु नेपाल ल्याउनको लागि होम डेलीभरी गराईदिने भनी ७७ हजार ७ सय रुपैयाँ, सिको घडी मगाउनको लागि नगद ४९ हजार ५ सय ५० रुपैयाँ डेलीभरी नगरी ठगी गरेको खुलेको छ ।
यस्तै, एडिडास कम्पनीको जेन्स कपडा, जुत्ता होम डेलीभरीको लागि १४ हजार ८ सय ७५ रुपैयाँ र औषधी तथा मोबाइल होम डेलीभरीको लागि ७३ हजार ७ सय ८५ रुपैयाँ लिई कसैलाई पनि सामान डेलीभरी नगरी ठगी गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।
उनलाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।