काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएका छन्। घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको हो।
कुलमानले प्राधिकरणमा दोस्रो कार्यकालको तेस्रो आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएको ऊर्जा मन्त्रालय सचिवालयले जानकारी दिएको छ। तोकिएको समयभन्दा ढिला कार्यसम्पादन प्रतिवेदन बुझाएका कारण कुलमानलाई शून्य अंक दिइएको सचिवालय बताउँछ।
शून्य अंक प्राप्ति सम्बन्धमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान भने आफूलाई औपचारिक जानकारी नआएको बताउँछन्। ‘मैले ९८.९९ प्रतिशत पेस गरेको छु। हरेक सूचांकको मूल्यांकन हुनुपर्छ, जुन प्राधिकरणले प्राप्त गरेको छ। मन्त्रालयले सबै सुचांकको मूल्यांकन गर्नुपर्छ। शून्य अंक दिने भन्ने मन्त्रालयको नियत खराब हो,’ कुलमानको भनाइ छ।
मन्त्रालयले जानकारी बिना नै शून्य अंक भनी निर्णय गर्नु प्रक्रियागत नहुने भन्दै मन्त्रालयले दिएको प्राप्त अंकको सम्बन्धमा आफूसँग पनि राय लिनुपर्ने उनको दाबी छ। दुई कार्यकाल गरी ७ आर्थिक वर्षमा कार्यसम्पादन मूल्यांकनमा ९० अंकभन्दा माथि ल्याएका कुलमान अहिले शून्य पाएको भन्नु गलत मनाशय भएको कुलमानको भनाई छ।
मन्त्रालयले यही पुस २२ गते कुलमानलाई स्पष्टीकरण सोध्दै कार्यसम्पादन मूल्यांकन नबुझाएको बारेमा लिखित प्रश्न सोधेको थियो।