कुलमान घिसिङविरुद्ध रमेश खरेलले दिए अख्तियारमा उजुरी

55

काठमाडौं –  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नेपाल प्रहरीका पूर्वडीआईजी तथा हाल एन्टी करप्सन नेटवर्कका निर्देशक रमेश खरेलले मंगलबार कुलमान घिसिङले प्राधिकरणबाट अकुत सम्पत्ति आर्जन गरेको भन्दै उनीमाथि छानबिनको माग गरेर अख्तियारमा उजुरी दिएका हुन् ।

खरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘रामेछापको सामान्य परिवारमा जन्मिएका उनका दाजुभाइले करोडौँको कम्पनी खोल्न सक्ने नै थिएनन् । यहीनिर प्रश्न उठ्छ– कुनै पेसा व्यवसाय नै नभएका चार दाजुभाइले त्यति ठुलो लगानीको हार्डवेयर कसरी खोले ? यसको जवाफ हो– कुलमानले नै यसको सबै व्यवस्थापन गरेका थिए ।’

‘घिसिङ प्रबन्ध निर्देशकमा नियुक्त भएको एक वर्षपछि २०७४ साउन ५ गते उनले आफ्ना चार भाइको नाममा तीन करोड पुँजी भएको तेन्डेल हार्डवेयर प्रा.लि. दर्ता गरिदिएका थिए । उक्त कम्पनीमा आफ्ना चार दाजुभाइ गणेश, अनिल, सानुकान्छा र सुरेश घिसिङको नाममा प्रतिव्यक्ति ७५ हजार सेयर कित्ता हुने गरी कम्पनी खोलेको पाइएको छ ।’ उनले लेखेका छन् ।

उनले भनेका छन्, ‘कुलमान घिसिङले ६६ वटा कम्पनीसँग कानुन विपरीत पीपीए गर्दा नेपाल सरकारको खातामा आउने एक करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व गुमेको छ ।, कुलमानले २०७५ र २०७६ सालको विभिन्न मितिमा विभिन्न ऊर्जा उत्पादक कम्पनीसँग पावर पर्चेज एग्रिमेन्ट गरेका थिए । उनले ती कम्पनीसँग विद्युत् नियमन आयोगको स्वीकृतिबिना पीपीए गर्दा विद्युत् नियमन आयोगको खातामा जम्मा गर्नुपर्ने यति मोटो रकम गुमाउनुपरेको हो ।’

समाचार वर्गहरू