काठमाडौं – उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कुवेत सरकारले नेपालबाट थप दुई लाख कामदार लैजाने विषयमा छलफल भएको बताएका छन्।
मंगलबार एसियाको अप्रेसन डायलग (एसीडी) को इरानको तेहरानमा भएको १९ औँ विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले इरानको राजधानी तेहरानमा कुवेतका विदेशमन्त्री अब्दुल्ला अली अल–याह्याले थप दुई लाख नेपाली कामदार कुवेत लगिने जानकारी दिएको उनले सुनाए।
कुवेतका विदेशमन्त्री अब्दुल्लाले यसैवर्ष काठमाडौंमा दूतावास खोल्ने जानकारी दिएको पनि उनले सुनाए। कुवेतमा हाल एक लाख नेपाली कार्यरत छन् र अब साे संख्या तीन लाख पुर्याउने कुवेतको लक्ष्य रहेको छ।
परराष्ट्रमन्त्री श्रेष्ठले भ्रमणको क्रममा इरानका कार्यवाहक परराष्ट्रमन्त्री, म्यानमारका उपप्रधान तथा विदेशमन्त्री, बहराइनका विदेश मन्त्री, कुवेतका विदेश राज्यमन्त्री, साउदी अरेवियाका उपविदेश मन्त्री र रुसका उपविदेशमन्त्रीसँग दुई पक्षीय भेटघाट गरेका थिए। भेटका क्रममा दुई देशबिच सहकार्य र हितका विषयमा समेत छलफल भएको बताए।
युक्रेन युद्धमा रुसी सेनामा भर्ती भएर ज्यान गुमाएका सात जना नेपालीको क्षतिपूर्तिको व्यवस्था गर्ने प्रक्रिया अघि बढाइएको छ।