कुवेतसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम भुटान प्रस्थान

14

(काठमाडौं) – फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम भुटान प्रस्थान गरेका छन् ।

कतारमा आयोजना हुने विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गतको खेलका लागि २३ सदस्सीय नेपाली टिम शनिबार दिउँसो भुटानको थिम्पु प्रस्थान गरेका हुन् ।

नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार नै बिदाई गरेको छ । नेपालले मंसिर ३ गते भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा कुवेतसँग खेल्दैछ । कुवेतसँगको खेलका लागि भुटान जाने टिममा चार खेलाडी परिवर्तन भएका छन् ।

विमल घर्र्ती मगर, अन्जन बिष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ भुटान जाने छैनन् । एन्फाले चारै खेलाडीलाई अनुशासनको कारबाही गरेको छ । नेपालको पहिलो होम खेलको रुपमा रहेको यस खेल यस अघि दशरथ रंगशाला हुने तय भएको थियो ।

छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । समूह बी मा नेपाल समूहको चौंथो स्थानमा छ । यस अघि कुवेतसँग अवे खेलमा नेपाल ७–० को भारी गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गर्याे ।

यस्तै, तेस्रो खेलमा एसियाली पावर हाउस अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

समाचार वर्गहरू