(काठमाडौं) – कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको दोस्रो खेलमा नेपाल पराजित भएको छ । कुवेटसँगको हारसँगै सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनोट हुने नेपालको सम्भावना न्यून बनेको छ ।
भुटानको थिम्पुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १-० गोल अन्तरले पराजित भएको हो । चाङ्लिमिथाङ रंगशालामा कुवेतलाई जित दिलाउन कप्तान बदर अल मतवाले निर्णायक गोल गरे । उनले पहिलो हाफको २८ औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । खेलको सुरुवाती मिनेटदेखि नै कुवेतले नेपालमाथि दबाब कायम गरेको थियो । नेपालले बिरलै मात्र कुवेती हाफमा बल खेलाउन सक्यो ।
कुवेतविरुद्ध नेपालले पनि गोलको अवसर पाएको थियो । तर, नेपालले त्यसलाई सदुपयोग गर्न सकेनन् । सुजल श्रेष्ठको क्रसमा २२ औं मिनेटमा अभिषेक रिजालले डिबक्सभित्रबाट गरेको प्रहार आकाशिएको थियो । यस्तै ४० औं मिनेटमा रोहित चन्दको प्रहार कुवेती गोलकिपरले मुस्किलले बचाएका थिए ।
दोस्रो हाफमा नेपालले केहि सुधारिएको प्रदर्शन गर्यो । बल पोसेसनमा केहि सुदृढ देखिएको नेपाली टोलीले विपक्षी गोलरक्षकलाई समस्या दिन भने सकेन । कुवेतले पनि केहि सटिक अवसर सिर्जना गर्दा गोलरक्षक किरण व्यस्त रहे । खेलको अन्तिम ५ मिनेट प्रशिक्षक योहान कालिनले आक्रामक रणनीति अबलम्बन गर्दै नवयुग श्रेष्ठ र सुवास गुरुङलाई मैदान प्रवेश गराएपनि गोल गर्न भने सकेन ।
नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि खेल न्युट्रल भेन्युको रुपमा भुटानमा सारिएको हो । यसअघि नेपाल अवे खेलमा कुवेतसँग ७ ० ले पराजित भएको थियो । यो हारसँगै छनोटको समूह ’बी’ मा रहेको नेपालले ५ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा रहेको छ । कुवेत भने ५ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अब नेपालले अर्को होम खेल चाईनिज ताइपेसँग दशरथ रंगशालामा मार्च २६ मा खेल्नेछ ।