काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल कुलाङ्गार निस्किएकाले पार्टिबाट निकालेको बताएका छन्।
पछिल्लो समय पार्टीविरुद्ध षड्यन्त्र गरेको थाहा पाए पछि नेता नेपाललाई पार्टीबाट हटाएको बताउँदै केपी ओलीले भने, ‘मैले सर्पको बच्चालाई दुध खुवाएर पालेको रहेछु।’
‘कूपात्र भनेर चिनेपछि मैले माधव नेपाललाई पार्टीबाट हटाएको हुँ। विकासको सोच र कुनै योग्यता नभएको मान्छे हो माधव नेपाल,’ उनले भने ‘रौतहटको विकास नहुनुको मुख्य दोषी माधव नेपाल नै हुन्।’
नेता नेपालको गृहनगर गौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पचास वर्षअघि विराटनगरको महेन्द्र मोरङ कलेजमा पढ्दैगर्दा माधव नेपाललाई भेटेको र त्यहीबेला सम्झाएर, बुझाएर राजनीतिमा पूर्णकालीन कार्यकर्ता बनाएको पनि बताए।
एमाले अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकारले देश र जनताको हित गर्न नसक्ने बताउँदै गठबन्धनका उम्मेदवारहरुलाई हराउँदै एमालेले स्थानीय निर्वाचनबाटै एमालेको जनमत प्रमाणित गर्ने दाबी गरे।