कृषि क्षेत्रमा नेपाली कामदार लैजान जापानको तयारी

20

(काठमाडौं) – नेपाल र जापान सरकारबीच भएको श्रम समझदारीलाई थप प्रभावकारी ढंगले अघि बढाउने विषयमा छलफल भएको छ । सो क्रममा जापानले नेपाली कामदारलाई कृषि क्षेत्रमा लैजाने आन्तरिक गृहकार्य थालेको जानकारी गराएका थिए । यसअघि जापानले नर्सिङ क्षेत्रमा मात्रै छुट्टाएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको विदेश मामिला हेर्ने विभागका उपमहानिर्देशक नाकाडा टाहामी नेतृत्वको प्रतिनिधिमण्डल बीच सोमबार छलफल भएको हो ।

सो क्रममा मन्त्री विष्टले नेपालमा कृषिमा आवद्ध जनशक्ति धेरै रहेको उल्लेख गर्दै नेपालबाट कृषि सम्बन्धी सीपयुक्त जनशक्तिको आपूर्तिबाट जापान थप लाभान्वित हुन सक्ने बताए । यस सन्दर्भमा नेपाल र जापान सरकारबीच सम्पन्न भएको श्रम सम्बन्धी समझदारी अनुसार तोकिएका विभिन्न १४ क्षेत्र मध्ये कृषि क्षेत्रमा जापानलाई चाहिने कामदारको सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा समेत मन्त्रालयले जनाएको छ ।

जापानी राजदूत मसामिची साईगो समेत सहभागी रहेको उक्त भेटघाटमा मन्त्री विष्टले जापान सरकारबाट श्रम तथा रोजगार क्षेत्र लगायतका विविध क्षेत्रमा भएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए । भेटमा नेपाल सरकार र जापान सरकार बीचको श्रम समझदारीलाई अझ प्रभावकारी ढंगले अघि बढाउनुका साथै निजी क्षेत्रहरुबीच समेत सम्बन्ध स्थापित गर्ने बारेमा छलफल भएको थियो ।

जापानी प्रतिनिधिमण्डलले नेपालबाट कृषि, मत्स्य एवं फुड सर्भिस सम्बन्धित क्षेत्रमा नेपाली कामदारहरु लैजान इच्छुक रहेको बताए । नेपाली कामदारलाई आवश्यक सीप तालिम प्रदान गर्न जाइका मार्फत सहकार्य गर्न सकिने समेत उनले बताए ।

भेटघाटमा जापानका राजदूतज्यूले नेपालबाट जापानमा कृषि कामदार लैजान यस टोलीले अध्ययन अनुसन्धान समेत गर्ने बताउँदै नेपाल र जापान बीच भएको श्रम समझदारी अनुसार क्रमिक रुपमा कामदारको सीप परीक्षण गरी थप कामदार लैजाने बताए ।

समाचार वर्गहरू