कृष्ण पहाडीको आरोप, ज्ञानेन्द्र शाह सर्वाधिक षड्यन्त्रकारी

165

काठमाडौं – मानवअधिकारकर्मी कृष्ण पहाडीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई नेपालको सर्वाधिक षड्यन्त्रकारी व्यक्ति बताएका छन् ।

मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको ‘नागरिक आकांक्षा, नागरिक स्वतन्त्रता र सर्वोच्चता’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै पहाडीले यस्तो बताएका हुन् ।

पहाडीले गत चैत १५ गते पूर्व राजा ज्ञानेन्द्र शाहकै योजनामा २०-२५ हजार मानिसको भीड जम्मा गरी संवेदनशील क्षेत्र कब्जा गरेर ‘नागरिकले विद्रोह गरेको’ बहाना बनाइ सेनामार्फत राज्यसत्ता कब्जा गर्ने रणनीति रहेको आरोप लगाए । उनले राजावादीहरूले कानुनको दुरुपयोगसँगै सेनालाई उचाल्ने काम राज्यविरुद्धको अपराध भएको बताए ।

नागरिक आन्दोलनका अगुवा समेत रहेका पहाडीले नेताहरूले आफूलाई सुधार गरेर नयाँ अनुहारको सरकार र सुशासनलाई कायम गर्न सके नेपाली जनताले वाहवाही गर्ने बताए । पछिल्लो समय केही नेताहरूमा ‘श्री ५ को भूत सवार’ हुँदा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो ।

सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति रेणुका पौडेल, पूर्व सभापति गोविन्द खनाल, महासचिव प्रकाश शाही, पूर्व वरिष्ठ उपसभापति कृष्ण रावल, सचिव डीपी खनाल, अनुशासन आयोगका सदस्य लालहरी पाण्डे, रुपन्देही सभापति अर्जुन ज्ञवाली, निवर्तमान सभापति कृष्ण भट्टराई लगायतले मुलुक कुशासनले ग्रसित भएमा लोकतान्त्रिक मूल्यमान्यता संकटमा पर्ने चर्चा गर्दै शान्ति समाजले मानवअधिकार संरक्षण र सुशासन प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।

समाचार वर्गहरू