रासस – संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई कोरोना प्रभावित इरान, इटाली र दक्षिण कोरिया भ्रमण नगर्न आदेश दिएको छ । अमेरिकी स्वास्थ्य विभागले कोरोना सङ्क्रमित एक व्यक्तिको मृत्यु भएको घोषणा गरेलगत्तै अमेरिकाले नयाँ प्रतिबन्धहरु घोषणा गरेको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति माइक पेन्सले विगत १४ दिनभित्र इरान भ्रमण गरेका कुनै पनि विदेशी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध पनि लगाइने जानकारी दिए । यही शर्त इटाली र दक्षिण कोरियाका सम्बन्धमा पनि लागू हुनेछ ।
उपराष्ट्रपति पेन्सले इरानी नागरिकमाथि यात्रा प्रतिबन्ध पहिल्यैदेखि रहे पनि विगत १४ दिनयता इरान भ्रमण गरेका कुनै पनि विदेशीलाई अमेरिका प्रवेश गर्न नदिइने बताए । उनले इटाली र दक्षिण कोरियाका कोरोना प्रभावित इलाकाहरुमा भ्रमण नगर्न सल्लाह दिइएको पनि जानकारी दिए ।
चीनको उहानबाट फैलिएको कोरोनाभाइरस बेलायत, सिंगापुर, इटाली, फ्रान्स, रसिया, स्पेन, इरान, भारत हुँदै विश्वका ४५ भन्दा बढी देशमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाको सङ्क्रमणलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको रुपमा घोषणा गरेको छ ।