काठमाडौँ – कोरोना भाइरस (कोभिड-१९) को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ ।
केही निजी अस्पतालले कोभिड–१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन मन्त्रालयले निर्देशन दिएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक सूचना जारी गर्दै बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानुन अनुसार कारबाही गरिने बताए ।
कोभिड–१९ को सन्दर्भमा केही निजी अस्पतालले सबै किसिमका सेवामा कोभिड–१९ को बहानामा अतिरिक्त शुल्क जोडेर लिने गरेको गुनासो पाइएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको सहप्रवक्ता डा. अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।
उनले सूचना जारी गर्दै भनेका छन्, ‘कोभिड–१९ को संक्रमणको समस्याले सबैलाई परेको यस्तो कठिन समयमा समेत केही निजी अस्पतालले बहिरङ्ग सेवालगायतका सबै किसिमका सेवामा केही प्रतिशत खर्च जोडेर शुल्क लिने काम नगर्न/नगराउन अनुरोध छ ।’