काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट काठमाडौंसहित विभिन्न जिल्लामा थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा पर्सा, मोरङ र काठमाडौंमा गरी थप ३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनीहरूमध्ये एक महिला र दुई पुरुष छन् । उनीहरूको साउन २३ गते अस्पतालमा मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार वीरगन्जका ७४ वर्षीय पुरुष साउन २३ गते गण्डकस्थित कोभिड अस्पतालमा भर्ना भएका थिए । उनमा मधुमेह र दमको समस्या थियो। मरणोपरान्त गरिएको परीक्षणमा उनमा कोभिड-१९ पुष्टि भएको हो ।
कोरोना संक्रमित काठमाडौं टोखा नगरपालिका-६ की ४१ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ती महिलालाई साउन १८ गते कोभिड-१९ पुष्टि भएको थियो । पाठेघरको क्यान्सर र निमोनियाको समेत बिरामी रहेकी ती महिला आईसीयूमा उपचारकै क्रममा शुक्रबार मृत्यु भएको हो ।
मोरङ विराटनगर-९ बस्ने ५८ वर्षीय व्यक्ति निमोनिया, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि सप्तकोशी अस्पतालमा भर्ना भएका थिए । अवस्था बिग्रिएपछि उनलाई कोशी अस्पताल लगिएको थियो । आइसोलेशनमा राखेर उपचार गर्ने क्रममा सङ्कलित नमुनाको मरणोपरान्त परीक्षण गर्दा उनमा कोभिड पुष्टि भयो।