कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, मृत्यु हुनेको संख्या ४२५ पुग्यो

26
तस्वीर : एएफपी

रासस – विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङमा पनि एक व्यक्तिको मृत्यु भएको छ । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनी १३ औं व्यक्ति थिए । उपचाररत ती व्यक्तिको स्वास्थ्य अवस्था बिग्रिएसँगै मंगलबार बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

हङकङको व्याम्पो गार्डेनमा बसोवास गर्दै आएका ती व्यक्ति गत जनवरी २१ मा हङकङबाट उहान गइ जनवरी २३ मा हङकङ फर्किएका थिए । मङ्गलबारसम्म चीनमा यस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२५ पुगिसकेको समाचार संस्था एएफपीले जनाएको छ । यस भाइरसबाट सङ्क्रमण भएका २ हजार १४३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

यसअघि फिलिपिन्समा पनि आइतबार एक जनाको ज्यान गएको थियो । उनी पनि उहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिक रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

समाचार वर्गहरू