कोरोनाभाइरसले मानव शरीरमा कस्तो प्रभाव पार्छ ?

28
तस्वीर : बीबीसी

एजेन्सी – चिकित्सकहरूका लागि नयाँ कोरोना भाइरसविरुद्धको संघर्ष अनिश्चिततातर्फको यात्रा भइरहेको छ । यसले शरीरमा कसरी आक्रमण गर्छ ? यसका पूर्ण लक्षणहरू केके हुन् ? यसबाट विरामी पर्ने वा मृत्यु हुने सबैभन्दा बढी जोखिममा कुन उमेरका मानिस छन् ? यसको उपचार कसरी गर्ने ?
महामारीको सबैभन्दा ठूलो मार झेलिरहेको चीनको वुहानस्थित एउटा अस्पतालले यस्ता प्रश्नहरुको उत्तर दिन थालेको छ । त्यहाँ सुरुमा उपचार गरिएका ९९ जना बिरामीको विस्तृत समीक्षा लान्सिट मेडिकल जर्नलमा प्रकाशित गरिएको छ ।

 

फोक्सोमा संक्रमण
अस्पताल लगिएका ती सबै ९९ जना बिरामीमा निमोनिया भएको पाइएको थियो । उनीहरूको फोक्सो फुलेको थियो र रगतमा अक्सिजन सर्ने साना थैलीहरू पानीले भरिएको थियो ।

उनीहरुमा अन्य यस्ता लक्षण देखिएका थिए :
– ८२ जनालाई ज्वरो आएको थियो,
– ८१ जनालाई रुघाखोकी लागेको थियो,
– ३१ जनामा श्वासप्रश्वासको समस्या थियो,
– ११ जनालाई मांसपेशी दुख्ने समस्या थियो,
– ९ जनामा मिश्रित समस्या देखिएको थियो,
– ८ जनालाई टाउको दुख्ने समस्या थियो,
– ५ जनाको घाँटीमा संक्रमण देखिएको थियो,

 

प्रारम्भिक मृत्यु
ज्यान गुमाउने प्रथम दुई बिरामीहरु स्वस्थ नै देखिन्थे । यद्यपी उनीहरु लामो समयदेखि धूमपान गरिरहेका हुनाले उनीहरूको फोक्सो कमजोर भएको अनुमान गरिएको छ ।

तीमध्ये ६१ वर्षीय पुरुषलाई अस्पताल पुर्याइँदा गम्भीर किसिमको निमोनिया भएको थियो । उनको फोक्सोले शरीरमा पर्याप्त अक्सिजन प्रवाह गर्न सकिरहेको थिएन । भेन्टिलेटरमा राख्दा समेत उनको फोक्सोले काम गर्न सकेन । अस्पताल भर्ना भएको ११ दिनपछि उनको मृत्यु भयो ।
अर्का बिरामी ६९ वर्षीय पुरुषमा थिए जसमा सास प्रश्वासको गम्भिर समस्या देखिएको थियो । उनलाई एउटा कृत्रिम फोक्सोको सहायतामा राखियो । गम्भीर निमोनिया र सेप्टिक सकका कारण रक्तचाप ह्वात्तै घटेपछि उनको मृत्यु भयो ।

 

बजारसँग सम्बन्धित
यो नयाँ भाइरसलाई 2019-nCoV  नामकरण गरिएको छ । ह्वानेनस्थित एउटा समुद्री खाद्यपदार्थ बजारमा जिउँदै बेच्न राखिएका जीवबाट उक्त भाइरस फैलिएको अनुमान छ । संक्रमण भएको पहिला पुष्टि भएका ९९ जनामध्ये ४९ जना प्रत्यक्ष उक्त बजारसँग सम्बन्धित थिए । दुई जना सामान किन्न गएका ग्राहक थिए भने ४७ जना त्यहीँ काम गर्थे ।

 

अधबैँसेहरू बढी प्रभावित
ती ९९ बिरामीमध्ये धेरैजसो अधबैँसे थिए । उनीहरूको औसत आयु ५६ थियो र ६७ जना पुरुष थिए । यद्यपि द चाइना सेन्ट्रर्स फर डीजिज कन्ट्रोल एन्ड प्रिभेनशनले प्रकाशित गरेको एउटा विवरणले १.२ पुरुष प्रभावित हुँदा १ महिला प्रभावित हुने देखाएको छ ।

 

पुराना बिरामी
ती ९९ जनामध्ये धेरै जना पहिले नै अन्य केही रोगबाट पीडित थिए । त्यसैले कमजोर प्रतिरक्षा प्रणाली भएको हुनाले भाइरसको संक्रमण भएको हुनसक्छ ।

   –  ४० जनाको मुटु कमजोर थियो वा रक्तनलीहरू बिग्रिएका थिए । उनीहरू हृदयरोग र स्ट्रोकजस्ता समस्याबाट पीडित थिए
–  १२ जनामा मधुमेह थियो

बीबीसीबाट

समाचार वर्गहरू