कोरोना प्रकोप : भारतका मजदुर मारमा, प्रधानमन्त्री मोदीले मागे माफी

62
फाइल फोटो

(काठमाडौं) – भारतका दशौँ लाख गरीबहरूलाई ठूलो असर पार्नेगरी ’लकडाउन’ गरिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन् । चार घण्टाको मात्र पूर्वसूचना दिएर कडा बन्देजको घोषणा गरिएपछि भारतमा त्यसको तयारीलाई जोडेर उक्त कदमको निकै आलोचना भएको छ ।

एक अर्ब तीस करोड जनसंख्याया भएको भारतमा लकडाउनले धेरैलाई भोको र बेरोजगार पारेको बीबीसीले उल्लेख गरेको छ । साप्ताहिक रेडियो सम्बोधनमा आइतबार मोदीले भने, “मलाई तपाईँहरूको समस्या थाहा छ तर कोरोना भाइरसविरूद्ध लड्ने अर्को कुनै उपाय छैन… यो जीवन र मृत्युको लडाईँ हो र हामीले त्यो जित्नुपर्छ ।”

भारत अहिले तीन साताका लागि लगाइएको लकडाउनको बीचमा छ । तर, त्यसकाबीच करार र दैनिक ज्यालादारीका दशौँ हजार श्रमिक प्रतिबन्धलाई तोडेर आफ्ना घर फर्किरहेका छन् । त्यहाँ दशौँ लाख अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक छन् । प्रहरीले रोएटर्स समाचार संस्थालाई बताए अनुसार एकजना मजदुरले घर फर्कन २७० किलोमिटरको पैदल यात्राको प्रयास गरेपछि ज्यान गुमाएका थिए ।

अहिले राज्य सरकारहरूलाई आफ्ना राज्यका सीमाहरू बन्द गर्न भनिएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिने प्रयास स्वरूप देशका विभिन्न ठाउँबाट आएका हजारौँ कामदारहरूलाई क्वारेन्टाईनमा राख्न समेत भनिएको छ ।

उत्तर प्रदेश राज्यमा कर्मचारीहरूलाई हालै घर फर्केका झण्डै डेढ लाख मानिसहरू आफ्ना घरभित्र छिर्न दिन नहुने भन्दै तिनको पहिचान गर्न भनिएको छ । उच्च जनघनत्व भएका कारण भारतमा भाइरसको प्रकोप फैलँदा त्यसले दुर्भाग्यपूर्ण अवस्था निम्त्याउन सक्नेमा धेरैको चिन्ता छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका एक हजार भन्दा बढी घटना पुष्टि भएका छन् जसमा दुई दर्जन भन्दा बढीको संख्यामा मानिसहरूको मृत्यु भएको छ ।

समाचार वर्गहरू