(काठमाडौं) – विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ज्यान जानेको संख्या सोमबारसम्म ३ लाख १५ नाघेको छ ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार बिहानसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर ३ लाख १५ हजार २३ पुगेको छ । विश्वभर कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढ्दो छ ।
चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोभिड–१९ संक्रमितको संख्या विश्वभर ४७ लाख १७ हजार ६ सय ८३ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म करीब १७ लाख ३२ हजार बढी संक्रमित निको भएका छन् ।
कोभिड–१९ को संक्रमणबाट अमेरिकामा करीब ९० हजार जनाको मृत्यु भएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार सोमबार बिहानसम्म त्यहाँ ८९ हजार ५४ सय ५० जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १४ लाख ८६ हजार ४ सय २३ पुगेको छ । २ लाख ७२ हजार भन्दा बढी निको भएका छन् ।
बेलायतमा ३४ हजार ७ सय १६ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या २ लाख ४४ हजार बढी छ । इटालीमा मृतकको संख्या ३१ हजार ९ सय ८ पुगेको छ भने २ लाख २५ हजार बढी संक्रमित छन् । सोमबार बिहानसम्म फ्रान्समा २८ हजार १ सय ११ जनाको मृत्यु भएको छ भने एक लाख ७९ हजार बढी संक्रमित छन् ।
स्पेनमा २७ हजार ५ सय ६३ जनाले ज्यान गुमाएका छन् । दक्षिण अमेरिकी राज्य ब्राजिलमा पनि कोभिड–१९ का कारण ज्यान जानेको संख्या तीव्र गतिमा बढिरहेको छ । सोमबार बिहानसम्म ब्राजिलमा लगभग १६ हजार एक सय १८ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने संक्रमण नियन्त्रण उन्मुख भएको बताइको छ ।
चीनमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ हजार ४७ रहेको छ । चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३८ रहेको छ । संक्रमण पुष्टि भएकामध्ये ७९ हजार २ सय ५६ जना निको भएका छन् ।